गोरखा, ३ पुस – गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोक स्थित बेनिगाउँमा निर्माण भएको बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईको भवनको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले एक कार्यक्रमका विच विहिवार उदघाटन गरे । असल छिमेकी नेपालले गण्डकी गाउँपालिकाको सहयोगमा सो भवन निर्माण गरेको हो । उदघाटनपछि मन्तब्य राख्दै अध्यक्ष रानाले आफुले निर्वाचनका बेला गरेको बाचा अनुसार गाउसभाको पहिलो निर्णय बेनीगाउँमा स्वास्थ्य इकाई बनाउने गरेको र त्यसलाई पूरा गरेको बताए । हामीले गरेका बाचा पूरा गर्न प्रतिवद्व छौ, तपाईहरुले हामीलाई साथ दिनुहोस, रानाले भने ।
सो अवसरमा गाउपालिकाका प्रशासकिय अधिकृत राकेश गुरुङले स्वास्थ्य इकाईको भवन स्थापना भएपछि अब आवश्यक औषधी र बर्थिङ सेण्टरको लागि पहल गर्ने बताए । उनले स्थानियको सकृयता र असल छिमेकीको इच्छाशक्तीका कारण भवन निर्माण कार्य समयमा सम्पन्न भएको जानकारी गराए ।
कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गणतन्त्र स्थापना हुनुभन्दा पहिला देखि आफुहरुले गरेको पहलले अहिले सार्थकता प्राप्त गरेकोमा खुसी लागेको बताए । उनले अब स्वास्थ्य इकाईमा बर्थिङ सेण्टर स्थापनाको लागि पहल गर्ने बताए । कार्यक्रममा घ्याल्चोक स्वास्थ्यचौकीका प्रमुख बिमल रेग्मीले स्वागत गरेका थिए । भवन निर्माणका क्रममा भएको आम्दानी र खर्चको बारेमा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले जानकारी गराए ।
असल छिमेकी नेपालका परियोजना संयोजक बिजय श्रेष्ठले संचालन गरेको कार्यक्रम बेनीगाउँ सामुदायिक इकाई व्यवस्थापन समितका अध्यक्ष अमर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।स्वास्थ्य इकाईको भवन निर्माणको लागि स्थानिय सिताराम श्रेष्ठले जग्गादान गरेका थिए । स्वास्थ्य इकाईको भवन ४ आनामा निर्माण भएको हो । भवन असल छिमेकीको करिब ३० लाख र गण्डकी गाउँपालिकाको ६ लाख ५१ हजार गरि करिब ३६ लाख ५१ हजारको लागत निर्माण भएको हो । धादिङमा बस्दै आएका स्पेनका नागरिक फादर अल्कारोको सहयोगमा जग खनेर पनि भवन बन्न नसकेको बेनिगाउँको उक्त भवन असल छिमेकी नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको हो ।
स्वास्थ्य इकाईको भवन निर्माण भएपछि अब सामान्य उपचार सहित परिवार नियोजन र गाउँघर क्लिनिक संचालन गर्न सक्ने स्वास्थ्य इकाई प्रमुख सुनिता गुरुङले बताए । उनले भने, अहिले महिनाको एक हजारमा भाडामा एउटा कोठामाबसेर सेवा दिदा निकै कठिन भएको थियो, अब सेवा दिन सहज हुनेछ । सार्है गारो गरि २ वर्ष बित्यो अब भुकम्प प्रतिरोधात्मक भवन बनेपछि सेवामा सहजता हुनेछ ।
बेनिगाउँबाट गर्भवति महिलाहरु अहिले घ्याल्चोक जान २ घण्टा लाग्छ । स्वास्थ्य इकाई प्रमुख गुरुङका अनुसार अहिले पनि गर्भवति महिलाहरुलाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन टाढा भएकाले बेनिगाउँको स्वास्थ्य इकाईमा बर्थिङ सेण्टर संचालन गर्नसके स्थानियलाई निकै सहज हुनेछ । स्वास्थ्य इकाईको भवन बनेपछि गण्डकी गाउँपालिकाको वडा नं। ८ का ३ सय घरधुरी सहित ३ सय घरधुरी सहित आसपासका स्थानियलाई स्वास्थ्य सेवाको लागि सहज हुनेछ ।





