बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

किन हुन्छ पुरूष तथा महिलाहरूमा स्वप्नदोष ? के यो रोग नै हो त ?

किन हुन्छ पुरूष तथा महिलाहरूमा स्वप्नदोष ? के यो रोग नै हो त ?


  • कृष्ण कुमार सैजु (BHMS)
  • पुष १८ २०७६, शुक्रबार

निदाएको अवस्थामा कामोत्तेजक सपना हुनु र सपनामा नै वीर्यपात वा स्खलित भएर कपडामा दाग लाग्नु ! यो अवस्थालाई नै स्वप्नदोष भनेर भनिन्छ । नेपाली समाजमा यस्तो समस्याप्रति जनचेतनाको अभावको कारण संकुचित र पारम्पारिक धारणा ले गर्दा स्वप्नदोष हुनुलाई गम्भीर समस्याको रूपमा लिइन्छ । यसाई शारीरिक कमजोरी र समस्याका रूपमा अर्थयाउनेहरूको पनि कमी छैन । यसको नामबाट नै यसलाई कुन रूपमा हेरिन्छ भनेर अनुमान लगाउन सकिन्छ । स्वप्नदोष अर्थात् स्वपनामा गरिएको गल्ती ! अंग्रेजीमा ‘वेट ड्रिम’, ‘सेक्स ड्रिम’ वा ‘स्लिप अग्र्याजम’ पनि भनिने स्वप्नदोष खासमा सपनाको दोष चाहिँ होइन । तर पश्चिमा देशहरूमा भने यसलाई सामान्य शारीरिक प्रक्रियाका रूपमा लिइन्छ । त्यहाँ यसलाई ‘वेट ड्रीम्स’ भनिन्छ अर्थात गिलो सपना ! धेरैलाई लाग्न सक्छ स्वप्नदोष पुरुषहरूको मात्र समस्या हो तर यसो भने होइन । स्वप्नदोषको प्रक्रिया महिलाहरूमा पनि त्यतिकै देखिने गर्दछ । हो यसको स्वरूप भने केही फरक हुने गर्दछ । खासमा महिलाहरूमा पुरुषमा जस्तो अत्यधिक मात्रामा वीर्य स्खलन नहुने भएकाले यसबारे धेरैलाई थाहा नहुन सक्छ तर महिलाहरूमा पनि भित्री स्खलन हुने गर्दछ यस्तो अवस्थामा योनीको भित्री भागमा स्राव भएर गिलोपन बढ्ने गर्दछ । केही महिला मा भने अत्याधिक श्राव हुने गरेको पनि पाइन्छ ।
पुरुषहरूमा स्वप्नदोषः
सामान्यतया केटाहरू किशोरावस्थामा पुग्नासाथ स्वप्नदोष हुन थाल्दछ । यो एकदमै सामान्य प्रक्रिया हो तर हाम्रो समाजमा यसलाई हौवाको रूपमा चित्रित गरिने भएकाले अधिकांश किशोरहरू यसो हुन थालेपछि अनावश्यक कुण्ठाको शिकार हुन पुग्छन् । साँच्चै भन्नुपर्दा यो चिन्ताको विषय भने पटक्कै होइन । युवा अवस्थामा निद्रामा यौन सम्बन्ध राखेको सपना देख्नु या अन्य प्रकारको उत्तेजनाका कारण वीर्य स्खलन हुनुलाई सामान्य रूपमा लिइन्छ । विशेष गरेर बिहान निद्रा खुल्नु पहिले यस्तो हुने सम्भावना बढी रहन्छ । सामान्यतया युवाहरूमा बिहान स्वप्नदोषको बढी सम्भावना हुन्छ । यस समय लिङ्ग उत्तेजित रहने र लिङ्गमा अत्यधिक रक्तस्राव रहने भएकाले स्खलनको सम्भावना बढी रहन्छ । यो लिङ्गका मांशपेशीहरूको लागि उत्तम मानिन्छ । निद्रामै उत्तेजित भएको लिङ्गले वीर्यको भार थेग्न नसकेपछि स्खलन हुन्छ र यो नै स्वप्न दोष हो । तर महिलाहरूको यौनाङ्ग भित्रपट्टि हुन्छ त्यसैले यी सबै प्रक्रियाहरू उनीहरूको शरीरमा पनि हुने भएतापनि उनीहरू स्खलित भएको थाहा पाउन्नन् ।
महिलाहरूमा स्वप्नदोषः
मनोचिकित्सक तथा स्त्री रोग विशेषज्ञहरूका अनुसार महिलाहरू पनि यस्तो अवस्थाबाट अछुतो भने पटक्कै छैनन् । किशोरावस्थादेखि नै देखा पर्ने यस्तो समस्या विवाह पहिले मात्र हैन विवाह पश्चात पनि लामो समय पति टाढा रहेका समय वा लामो समयसम्म शारीरिक सम्पर्क नभएको अवस्थामा यस्तो हुनु सामान्य मानिन्छ ।
हाम्रो जस्तो समाजमा महिलाहरू यौनका बारेमा खुलेर कुरा नगर्ने र यौन सन्तुष्टिका वैकल्पिक साधन समेत प्रयोग नगर्ने भएकाले उनीहरूले यौन सम्पर्क राखेको सपना देख्नु र त्यसपछि स्खलित हुनु सामान्य कुरा हो । तर महिलाहरू स्खलित हुँदा उनीहरूमा पुरुषहरूमा जस्तो वीर्यपात हुने या कुनै अन्य पदार्थ बाहिर निस्किने भने हुँदैन । उनीहरूको योनी भित्र योनीरस उत्सर्जित भएर गिलोपन र चिप्लोपन बढ्छ जसलाई अधिकांश महिलाहरू चाल नै पाउँदैनन् । निद्रामा रहेका बेला यौनाङ्ग या त्यसको छेउछाउ दबाब पर्दा या घर्षण हुँदा यौन उत्तेजना आउन सक्छ । विशेष गरेर टाइट प्यान्टी लगाउँदा या सुतेका बेला दुई तिघ्राको बिचमा हात च्यापेर सुतेको खण्डमा समेत यस्तो हुने सम्भावना बढी हुने गर्दछ । यसरी थाहै नपाई निद्रामै कामोत्तेजना बढ्दा केही महिलाहरू अचानक ब्युँझिन्छन् र यस्तो बेला उनीहरूलाई योनीभित्र गिलोपन र चिप्लोपनको अनुभूति हुन्छ ।
अध्ययनहरूले के भन्छन् ?
महिलाहरूलाई पनि स्वप्नदोष हुन्छ भन्ने कुरा धेरैलाई थाहा समेत हुँदैन । कतिपय महिलाहरू जो स्वयं पनि यस्तो समस्याबाट गुज्रिरहेका हुन्छन् तिनलाई समेत आफूलाई स्वप्नदोष भएको कुरा थाहा नहुन सक्छ । महिलाहरूको जटिल शारीरिक बनौटले गर्दा यस्तो भएको हो । अमेरिकाको विश्वविद्यालयका मनोरोग चिकित्सक डा. एलेन लानका अनुसार केही महिलाहरू राति तीव्र चरमसुख अनुभव गरेर ब्युँझिने गर्छन् । यसमा कुनै पनि प्रकारको स्खलन हुँदैन तर योनी भने गिलो हुन्छ । हामी महिलाहरूको कामोत्तेजनाको बारेमा धेरै थाहा पाउँदैनौं किनभने उनीहरूको यौनाङ्ग भित्रपट्टी विकसित भएको हुन्छ ।
उनीहरू स्वयम् पनि पुरुषहरूले जस्तै आफ्नो यौनाङ्गमा हुने परिवर्तनलाई देख्न र महसुस गर्न सक्दैनन् । एक परीक्षणको निष्कर्श अनुसार महिलाहरूमा सपनामा पुरुषको दाँजोमा अधिक चरमसुख प्राप्त हुने गरेको तथ्य एक अध्ययनले फेला पारेका छ । परीक्षण अवधिभर सर्वेक्षणमा सम्मिलित महिलाहरू सुतेका बेला उनीहरूको मुटुको गति, श्वासप्रश्वासको गति र आँखाको नानीको गतिशीलतालाई अध्ययन गर्दा महिलाहरू एकभन्दा बढी पटक यौनजन्य सपना देख्ने गरेको तथ्य पत्ता लागेको र उनीहरू स्खलित भएको जस्ता शारीरिक लक्षणहरू समेत देखा परेका थिए ।
अमेरिकामा गरिएको एक अध्ययनअनुसार ८३ प्रतिशतलाई स्वप्नदोष हुने गरेको देखिएको छ । उमेर बढेसँगै स्वप्नदोष पनि कम हुँदै जाने रहेछ । अध्ययनअनुसार १५ वर्षको उमेरमा औसतमा तीन हप्तामा एक पटक स्वप्नदोष हुने गरेकोमा ४० वर्षको उमेरमा साढे पाँच हप्तामा एक पटक मात्र देखिने रहेछ । अनि, विवाहित पुरुषको हकमा १९ वर्षको उमेरमा महिनामा एक पटकदेखि ५० वर्षको उमेरमा दुई महिनामा एक पटक स्वप्नदोष हुने गरेको रहेछ । देशअनुसार र खानपान अनुसार पनि फरक हुँदो रहेछ । इन्डोनेसियामा २४ वर्षको उमेरसम्ममा करिब ९७ प्रतिशतलाई स्वप्नदोष भइसकेको बताएको पाइएको छ ।
किशोरीहरूमा पनि स्वप्नदोषमा एकरूपता छैन । एक यौन अनुसन्धानकर्ता अल्फ्रेड किन्सेका अनुसार ४० प्रतिशतले स्वप्नदोषको अनुभव गरेको पाइएको र चाँडैमा १३ वर्षको उमेरदेखि २१ वर्षसम्म वर्षमा केही पटक सुतिरहँदा यौन उत्तेजनासँगै चरमसुख पाएको र बिउँझिदा पेन्टी पनि भिजेको बताएको देखिन्छ । त्यस्तै, सन् १९८६ मा बारबारा वेलिसले गरेको अध्ययनमा ८५ प्रतिशत २१ वर्षको उमेरसम्म स्वप्नदोषकै कारण बिउँझिनु परेको वा बिउँझेपछि पेन्टी भिजिराखेको पाइएको छ ।
बाह्य वातावरण तथा सामाजिक रीतिअनुसार आफूमा भएको यौन चाहना दबाइराख्नुपर्ने हुन्छ । कतिपयले संकुचित भावना तथा हस्तमैथुनप्रतिको नकारात्मक दृष्टिका कारण यौन चाहना दबाउने गर्छन् । यसै बेला शरीरभित्रै विकसित भइरहेको यौन अवस्थाले विकल्प खोज्छ । यस क्रममा धेरैले हस्तमैथुन गरेर आफ्नो यौन भोक शान्त पार्छन् भने कतिपयमा यौन सपनासँगै वीर्य स्खलन वा योनिस्राव भई यौन तनाव शान्त हुन्छ । कतिपयले यौन सपनासँगै स्खलित हुनै लाग्दा थाहा पाउँछन् भने कतिपयले स्खलित भएपछि मात्र आफुले यौन सपना देखिरहेको वास्तविकता थाहा पाउँछन् । हस्तमैथुनसँग स्वप्नदोषको खासै सम्बन्ध छैन । करिब १३ प्रतिशत किशोरमा पहिलो पटकको वीर्य स्खलन स्वप्नदोषका रूपमा हुने गरेको पाइएको छ । हस्तमैथुनबाट वीर्य स्खलनभन्दा स्वप्नदोषका रूपमा पहिलो चोटि वीर्य स्खलन हुने किशोरको उमेर अलि बढी पाइएको छ । हस्तमैथुन गर्ने बानी तथा विवाहपश्चात् नियमित जसो यौन कार्यले यौन सपना देख्ने कार्य कम हुँदै जान्छ । विभिन्न अध्ययनबाट शरीरमा टेस्टोस्टेरोनको मात्रासँग यौन सम्बन्ध देखिने घटना सम्बन्धित छ । सन् १९९८ मा गरिएको एक अध्ययनअनुसार टेस्टोस्टेरोनयुक्त औषधि सेवन गरिरहेकामा भन्दा नगरिरहेकामा क्रमशः ९७ प्रतिशत र १७ प्रतिशत स्वप्नदोष हुने गरेको पाइएको छ । कामोत्ते्जना ठीक या बेठीक ? महिलाहरूमा कामोत्तेठजनाको बेला यौनाङ्गमा रक्त संचारको गति बढ्छ जुन् प्रजनन र सामान्य स्वास्थ्यका दृष्टिले साह्रै राम्रो मानिन्छ । यही कामोत्तेतजनाले गर्दा उनीहरूमा पनि स्वप्नदोष या स्खलन हुने समस्या देखा पर्दछ । यसले गर्दा योनीमा लचिलोपन बनिराख्छ जसले गर्दा पछि पुरुषसँगको सहवास पीडादायी हुँदैन र प्रसवको बेला समेत बच्चा जन्माउन कम पीडा महसुस हुन्छ ।
स्वप्नदोष कति गम्भीर ?
मनोवैज्ञानिकहरूका अनुसार सुत्ने बेला मनमा कामुक विचार ल्याएको खण्डमा कामोत्तेजक सपना हुनु सामान्य हो । र यस्तोमा वीर्यपात हुनसक्छ । स्वप्नदोष कुन अर्थमा पनि नराम्रो होइन भने यसले शरीरमा संचित वीर्य बाहिर निस्किन मद्दत गर्दछ जुन पुरानो भइसकेको हुन्छ । वीर्य शरीरमा निरन्तर बनिरहने भएकाले यो निस्किँदा यसले शरीरलाई स्वस्थ नै बनाउँछ ।
गर्ने के ?
किशोरावस्थामा यौनग्रन्थी र यौनांग सक्रिय हुन थाल्छन् । शरीरमा अन्य स्राव उत्पादन भएजस्तै वीर्य वा योनिरस बन्न थाल्छ । रगतबाट वीर्य बन्ने र वीर्य स्खलनबाट शक्ति क्षय हुने बुझाइ भ्रम मात्र हो । कुनै कारणवश पर्याप्त मात्रामा यौन सम्पर्क भएन भने हस्तमैथुनको क्रममा जस्तै विकल्पका रूपमा स्वप्नदोष हुन सक्छ । अविवाहितको दाँजोमा कम नै भए पनि लामो समयसम्म यौन सम्बन्ध राख्न नपाएका विवाहित ब्याक्तीमा पनि स्वप्नदोष हुन सक्छ । किशोर किशोरी वा पुरुष महिला मा एकदुई हप्ता यौनका दृष्टिले सक्रिय नभएमा (यौन सम्पर्क नभएमा वा हस्तमैथुन नगरेको भएमा) स्वप्नदोष हुन सक्छ । यौन सपनासँग स्वप्नदोषको सम्बन्ध भएकाले यौन सपना देख्ने बानी घटाउन यौन परिकल्पना नगर्ने, यौन सामग्री अत्यधिक नहेर्ने, नपढ्ने, सुत्नुअगाडि पिसाब फेरेर तथा हातखुट्टा राम्ररी धोएर सुत्ने तथा मन शान्त पारेर सुत्ने गर्नुपर्छ । सुत्ने कोठामा उत्तेजक तस्बिर हटाउने तथा रातीको समय लिंग खेलाउने बानी हटाउने गर्नुपर्छ । सदैव यौनको मामिलामा अनुशासित भई आफ्नो काम, पढाइ, खेलकुदमा ध्यान केन्द्रित हुनुपर्छ । यौनांग थिचिने तथा उन्मुक्त हुने कारण घोप्टो वा उत्तानो परेर सुत्ने गर्नु हुँदैन । ध्यान, योग वा शारीरिक व्यायामले राम्रो गर्छ । त्यसै गरी, कतिपय खानेकुराले स्वप्नदोष कम गर्न मद्दत गर्छन् । लौका सेवनले शरीर शीतल बनाउँछ । अमलाले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुन र प्याजले फाइदा पु‍¥याउँछन् । दूधमा बदाम, केरा, अदुवा मिसाई खाँदा पनि लाभ मिल्छ । मुख्य कुरा स्वप्नदोषलाई स्वाभाविक प्रक्रिया ठानी स्खलित हुनै लाग्दा वा भएपछि यौनांगको सरसफाइमा ध्यान दिने गर्नुपर्छ । यस क्रममा भित्री कपडा फेर्ने, तन्ना वा सिरकको खोलको सरसफाइ गर्नुपर्ने हुन्छ । उपयुक्त परामर्शको अभावमा चिन्ताग्रस्त हुन सक्ने भएकाले मनोपरामर्शको आवश्यकता पर्न सक्छ । स्वप्नदोष कम होस् या नहोस भन्नका लागि कामोत्तेजक साहित्य नपढ्ने, त्यस्ता चलचित्र नहेर्ने र राती सुत्ने बेलामा मनमा कामोत्तेजक विचार नल्याउँदा राम्रो हुन्छ । त्यस्तै बढी मसलेदार र अमिलो खानेकुरा खानाले पनि यस्तो समस्या देखा पर्न सक्छ ।
अनुभवः
केही स्वप्नदोषीहरूले ब्यक्त गरेको भनाई अनुसार आफु स्वप्नदोषबाट प्राप्त यौन आनन्द र सामिप्यता को अनुभुतिले खुसी, मन मा शान्ती र शरीर हलुका भएको अनुभव सुनाउछन् । केही स्वप्नदोषीहरू आफ्नो यौन चाहाना मेटाउनको लागी अन्य पार्टनरको आवसयक्ता नपर्ने भएकोले स्वप्नदोषलाई आफु सकारात्कम दृष्टिकोणले हेर्ने गरेको र स्वप्नदोषबाट आफुले पुर्ण रूपमा यौन सन्तुष्टी प्राप्त गरेकोपनि बताउँछन् । स्वप्नदोष कुनैपनि प्रकारको रोग होईन तसर्थ मनमा अनआवस्याक चिन्ता नलिनु नै उपयक्त हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->