पर्वत,१८ पुस – पर्वतमा यस बर्ष पहिलो पटक बाक्लो गरी हिमपात भएको छ । जिल्लाका उच्च पहाडी क्षेहरुमा बर्षेनि हिमपात हुँदै आएको भएपनि हिउँपातको पर्खाइमा बस्नेहरु धेरै हुन्छन् । बर्षपछि बढेको अत्याधिक चिसोका कारण डाँडाकाँडा ढाकिने गरेर हिउँ पर्ने गरेको छ । बिहीबार अपराह्नदेखि भइरहेको वर्षाका कारण बिहीबार रातीदेखि नै बिभिन्न ठाउँमा हिमपात सुरु भएको हो । जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरूमा बाक्लो हिउँ परेको छ ।
सामान्य अवस्थामा हिमपात नहुने पर्वत जिल्लामा बढी चिसो भएपछि मात्र हिमपात हुन्छ । यही अवस्थाको फाइदा उठाउँदै हिउँमा खेल्ने र रमाईलो गर्न हिउँ परेका डाँडाहरुमा पुग्ने र रमाईलो गर्नेहरुको संख्या राम्रै देखिन्छ । शुक्रवार मध्यान्नबाट विभिन्न ठाउँमा हिमपात भइरहेपछि युवाहरूका टोलीहरू सवारी नै रिजर्भ गरेर हिमपात भएका डाँडाकाँडातर्पm लागेको छन् । बाक्लो हिउँ परेको जलजला गाउँपालिकाको बनौँमा कुस्मा, खरेहा, कटुवाचौपारी, छमर्के लगायतका ठाउँका मानिसहरु हिउँ खेल्नका लागि बनौँका वडाध्यक्ष गौबहादुर पुनले बताए। ‘वडा कार्यालय पनि हिउँले ढाकिएको छ, गाउँ पुरै छपक्कै हिउँले ढाकिएको छ। सेतै छ।’ उनले भने, ‘हिउँ पर्न थालेपछि यहाँ हरेक बर्ष जिल्लाका बिभिन्न ठाउँका मानिसहरु हिउँ खेल्नकै लागि आउने गरेका छन्। अहिले पनि हिउँमा खेलीरहेका धेरै देखिएका छन्।’
२०६३ फागुन २ गते देशैभरि अत्यधिक मात्रामा हिउँ परेदेखि हिउँमा खेल्नुको मज्जा लिनेहरू धेरै छन् । हिउँ के हो ? भनेर थाहा नै नपाएकाहरूले पनि हिउँमा खेल्नुको मज्जा लिन थालेपछि पर्वतमा हिजोआज हिमपात हुँदासाथ हिउँमा खेल्नेहरूको ओइरो लाग्न थालेको छ ।
युवाहरूलाई हिउँले रमाइलो गराएकै बेला कृषकहरू पनि वर्षाका कारण खुसी भएका छन् । प्रायः हिउँदको समयमा सिचाईँको लागि पानीको समस्या हुने गरेका विभिन्न ठाउँका कृषकहरूले लगाएका हिउँदे बालीमा राम्रोसँग सिँचाई भएको छ । यो समयमा लगाइएका आलु, तोरी, गहुँ, जौ, तरकारी लगायतलाई सिचाईँको अभाव भएकै बेलामा वर्षा हुँदा सिचाईँको समस्या टरेको फलेवास नगरपालिकाका कृषक डिल्लु सापकोटाले बताए । ‘आलुमा पानी लगाउनुपर्ने बेला भएको थियो, कुलोमा आएको थोरै पानीलाई पाइप सारेर दुःखका साथ भिजाउनुपर्ने अवस्था थियो, पानी आयो आनन्दै भयो ।’
कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जिल्लाका धेरै ठाउँका कृषकहरूले हिउँदमा सिँचाई गर्न नसक्ने अवस्थामा रहेको बेलामा भएको वर्षाले खाद्यान्न उत्पादनमा सहयोग पु¥याउने बताए । यद्यपि कतिपय ठाउँमा असिना पनि परेका कारण खेती बालीमा सामान्य क्षति भएको आपूmले पाएको जानकारी दिए ।
अत्यधिक चिसो बढेपछि साना बाबुनानीहरु तथा पाका उमेरका ज्येष्ठ नागरिकहरूलाई भने कठिन भएको छ । चिसोका कारण बच्चामा निमोनिया हुने तथा उमेर पुगेकाहरूको रक्तसञ्चार प्रणालीमा देखिने समस्याका कारण ज्यान समेत जाने गरेको छ । बच्चाहरू आपैmले न्यानोमा बस्नुपर्छ भन्ने ख्याल नगर्ने भएका कारण र तथा उमेर धेरै भएकाहरूको शरीरले चिसो सहन गर्न नसक्दा स्वास्थ्यमा समस्या देखा पर्ने चिकित्सकहरू बताउँछन् । सडकका पेटीहरूमा नै दाउरा बालेर आगो ताप्नेहरू पनि उत्तिकै देखिएका छन् । वर्षाकै कारण सदरमुकाम कुस्माबाट जिल्लाका विभिन्न ग्रामीण ठाउँहरूमा आउजाउ गर्ने सवारी साधनहरू सञ्चालनमा ल्याउन पनि कठिन भएको यातायात व्यवसायीहरूले बताएका छन् ।





