बागलुङ, ५ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को बिषयमा राष्ट्रको हितको मुल्यांकन गरेर मात्रै पार्टी र सरकार निर्णयमा पुग्ने बताएका छन् । ‘राष्ट्रियताका बिषयमा नेपालीहरु कुनैपनि कुरामा कम्प्रमाईजन गर्न चाहँदैनन भन्नेकुरा बिदेशीले पनि बुझ्ने मौका बन्यो एमसिसि’ श्रेष्ठले भने ‘यो बिषयमा आएका पक्ष र बिपक्ष दुबै धारणा अतिरञ्जित छन् । उपयुक्त निर्णय हुन्छ ।’
सामाजिक सञ्जालमा व्यक्त भएका समर्थन र बिरोधका स्वरहरु जस्तो चर्को बिषय एमसिसि नभएको उनको दावी थियो । श्रेष्ठले सभामुख चयनको बिषयमा धारणा राख्दै पार्टीमा अब कुनै भागबण्डाको अवस्था नरहेको बताए । ‘अव पूर्व एमाले वा पूर्व माओवादी भनेर भागबण्डा हुँदैन’ उनले भने ‘पूर्व एमाले र माओवादी इतिहास भइसके ।’ प्रेस संगठन नेपाल बागलुङ शाखाले आईतवार विहान बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा सचिवालय सदस्य रहेका श्रेष्ठले सभामुख पूर्व एमाले अथवा पूर्व माओवादीबाट भन्ने भन्दा सक्षम नेतालाई बनाउने तर्फ पार्टि लागेको बताए ।
नेता श्रेष्ठले पत्रकारहरुको जवाफ दिदै पार्टी एकिकरण भइसकेपछि पनी पूर्व एमाले र पूर्व माओवादी भन्ने कुरा जायज नभएको प्रष्ट पारे । उनले उपसभामुखको राजिनामा आउनेमा नेकपा ढुक्क रहेको बताउदै संसदको गतिरोधले छिट्टै निकास पाउने बताए । संवैधानिक व्यवस्था अनुसार सभामुख पाउनकालागि नेकपाले उपसभामुखलाई राजिनामा दिलाउने उनले विश्वस्त पारे ।
राष्ट्रियसभाको उम्मेदवार समेत रहेका नेता श्रेष्ठले पार्टीको चाहना अनुसानै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताए । राष्ट्रिय सभाको निर्वाचनको प्रचार प्रसारका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बनेका नेता श्रेष्ठ र भगवती न्यौपाने बागलुङ आएका हुन् । ‘प्रतिनिधिसभाको पराजय स्वीकार गरीएको हो तर राष्ट्रिय सभामा उम्मेदवारनै बन्न हुन्न भन्ने होईन’ पत्रकारको प्रश्नमा जवाफ दिँदै श्रेष्ठले भने ‘पराजीत हुँदा पनि जनताको साथमा रहन्छु भनेको थिएँ । राष्ट्रिय सभाबाट अझै नजिक भएर जनताको माझमा जान्छु ।’ आईतवार दिउँसो बागलुङमा राष्ट्रिय सभाको निर्वाचनको बारे छलफल र परामर्श कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवारद्वय सहभागी हुँदैछन् ।





