पर्वत,१० माघ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भ्रमण बर्ष मनाईरहँदा नेपाल घुम्न आउने पर्यटकहरुको राम्रा कुराहरु नेपालीले पनि सिक्नुपर्ने तर नराम्रा कुराहरु भने बिर्सनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारबाट सुरु भएको छैठौँ पर्वत महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकहरु सबै एकै प्रकारका नहुने भएकोले पाहुनाहरुलाई उनीहरुको स्वभाव अनुसारको आतिथ्यता प्रदान गर्नुपर्ने बताए । ‘पर्यटकहरु आउँदा राम्रा नराम्रा दुवै कुराहरु आउँछन, उनीहरुका राम्रा कुरा हामीले सिक्नुपर्छ, नराम्रा कुराहरुलाई भुल्नुपर्छ ।’ उनले भने, ‘हामीले पर्यटकहरुको पैसा कसरी तान्न सकिन्छ भन्नेमा ध्यान दिने हो, उनीहरुलाई खुसी पार्ने हो, बसाइँ लम्ब्याएर खर्च गर्ने वातावरणको निर्माण गर्ने हो ।’ पर्यटनको माध्यमबाट देशको आर्थिक समृद्धिमा थप बल पुग्ने उनले बताए । तर त्यसका लागि नेपालीसँग भएका होटल, होमस्टे, खाना, आतिथ्यता, बसाई लगायतका कुराहरुमा स्तरीयता आवश्यक पर्ने भएकोले पर्यटकलाई बोलाउनु मात्रै नभएर यहाँको सुधारलाई पनि ध्यान दिनुपर्ने तिमिल्सिनाको भनाई छ । ‘आएका पर्यटकहरुले आयातित कुरा खाएर प्रगति हुँदैन, हामीले जे फलाएका छौँ त्यही बेच्न सकेमा मात्र आम्दानी हुने हो । नत्र त्यो पैसा आयातित सामग्रीको उत्पादकसँग पुग्छ ।’
गृहजिल्लामा मन्तब्य दिएका उनले जिल्लाको विकासका लागि सम्भाब्यताका ठाउँ, पर्यटकहरुका लागि रहेका गन्तब्यहरुको विकास, आर्थिक प्रगतिका लागि कृषि र उद्यम लगायतका बिषयमा के के गर्न सकिन्छ भन्ने बारेमा पनि बोलेका थिए ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माका अनुसार पर्वतमा उद्योग वाणिज्य संघको आयोजनामा हरेक ३÷३ बर्षमा महोत्सवको आयोजना गर्ने गरिएको छ भने यस अहिलेको महोत्सवबाट करीब डेढ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । झण्डै २ सय स्टलहरु निर्माण गरिएको महोत्सवमा कृषि तथा उद्यमीको काम प्रर्दशन गरिएका ३० ओटा स्टलहरु निशुल्क दिइएको छ । त्यस्तै, शैक्षिक तथा रचनात्मक काम प्रदर्शन गरिएका स्टलहरुको मूल्य अन्य स्टलको भन्दा कम तोकिएको छ । महोत्सवमा सरकारले उपलब्ध गराउने प्रमाणको आधारमा ७० बर्ष माथिका ज्येष्ठ नागरिक तथा क, ख र ग बर्गको अपांगता परिचय पत्र भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव माघको १९ गतेसम्म संचालन हुँदै छ ।





