बागलुङ,२४ माघ – बिद्यालयहरुलाई आधुनिक प्रबिधिसँग जोड्न कोड लोजिक टेक्नोलोजीले तयार पारेको एप्लिकेशन ‘स्मार्ट स्कुल’को बिषयमा निर्माण कम्पनीले बिहिबार बागलुङमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । एप्लिकेशनमा रहेका फिचर तथा उपयोगिताको बिषयमा निर्माण कम्पनीले जानकारी गराएको हो ।
सुरुमा नीजि बिद्यालयहरुलाई लक्षित गरेर तयार पारिएको एप्लिकेशन पछिल्लो समय स्थानीय सरकारहरुको सक्रियतामा सामुदायीक विद्यालयहरुले समेत प्रयोगमा ल्याएको कम्पनीका बजार निर्देशक जय बहादुर मल्लले जानकारी दिए । एपमा बिद्यार्थी, शिक्षकको हाजिरी, बिद्यालयका सूचना, विद्यार्थीको गृहकार्य, शिक्षकको तलब भूक्तानी लगायतका फिचरहरु समाबेश गरिएको मल्लले बताए ।
बागलुङका केही निजी बिद्यालयले प्रयोग गरेको यो एप्लिकेशन ताराखोला गाउँपालिकाका पाँच बिद्यालयमा प्रयोगमा ल्याईएको छ । बिद्यालयका नियमित क्रियाकलापमा हुने खर्च कम र उपलव्धी सहज हुने भएकाले एप्लिकेशनको प्रयोगमा बिद्यालयहरु उत्साहित भएको मल्लले जानकारी दिए ।
पहिलो पटक यो एप्लिकेशन प्रयोग गर्न चाहने विद्यालयहरुलाई इन्स्टलेसन चार्ज १० हजार र प्रत्येक बर्ष प्रतिविद्यार्थी १ सय रुपैयाँ लिएर यो सूविधा प्रयोग गर्न सकिने कम्पनीका बागलुङ प्रतिनिधि सञ्जन कुमार सिंहले जानकारी दिए । समयको बचत, जिम्मेबार शिक्षक, लगनशिल बिद्यार्थी र उत्तरदायी अभिभावक बनाउन यो कार्यक्रम उपयुक्त रहेको कम्पनीको दाबी छ ।





