आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रामरेखा–अदुवाबारी झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

रामरेखा–अदुवाबारी झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा


  • संजय रेग्मी
  • फाल्गुन २ २०७६, शुक्रबार

पर्वत,२ फागुन – झोलुङ्गे पुलहरुको जिल्लाका रुपमा चिनिएको बागलुङ अनि नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्ला । पर्यटन आकर्षणका हिसाबले साविकको धौलागिरीमा महत्वपूर्ण मानिएका झोलुङ्गे पुलका नामले चिनिने यी दुवै जील्लाई जोड्ने अर्को सेतु हो रामरेखा–अदुवाबारी झोलुङ्गे पुल ।
दुई जिल्ला जोड्ने गरी बनेको यो पुलमार्पmत कृषि तथा पर्यटकीय गतिविधि बढाउँदै स्थानीयको आर्थिक स्तर बलियो पार्न पनि उपयोगी हुने अपेक्षा गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल बताउँछन् । ‘पर्वत र बागलुङका बासिन्दाले बर्षौँदेखि यो काम होस भन्ने चाहेका थिए, हामीले निकै धेरै मिहिनेतका साथ काम पूरा गर्न पनि लागिसकेका छौँ ।’ उनले भने, ‘यी दुई जिल्ला जोडिएपछि शिक्षा, कृषि, उपचार लगायतका हिसावले पाङका मानिसहरुलाई सजिलो हुने छ । दुई जिल्लाका बीचमा रहेको निकट सम्बन्ध झनै घनिष्ठ बन्दै छ ।’
कालीगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी कोरिडोर माथि बनेको पुलले सोही बाटोहुँदै हिमाल पारीको जिल्ला मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्वत र बागलुङ जिल्लामा बास नै बस्ने गरी अड्याउन सक्छ भन्ने धेरैको आशा छ । नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा यसमा एउटा इँटा थप्ने आशा गरिएको पर्यटकीय गन्तव्यको रूपमा पर्वत र बागलुङ जिल्लालाई जोड्ने झोलुङ्गे पुल मानिएको छ ।
५ सय ६७ मिटर लम्बाई र १ सय २२ मिटरको उचाइमा पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवाबारी र बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी शालिग्राम शिला पाइने नेपालकै एक मात्र नदी कालीगण्डकीमाथि यो पुलको निर्माण भइरहेको छ । पुलको निर्माण कार्य २०७७ सालको असार महिना सम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको भए पनि यसको काम सकिन भने अब धेरै समय नलाग्ने पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए ।
‘पुलको काम धमाधम भइरहेको छ, निर्धारित मितिभन्दा पहिले नै सकिन्छ । अब करिब १० प्रतिशत जति काम बाँकी होला ।’ उनले भने, ‘अब छेउमा जाली र ठाडो डन्डी राख्ने, पुललाई हल्लिन नदिन एङ्कर प्लकबाट साइड लट्ठा कस्ने र उज्यालोको लागि सोलार बत्तीहरू जडान गर्ने काम बाँकी रहेको छ ।’ पुल निर्माणका क्रममा सस्पेन्सन ब्रिज महाशाखा, बागलुङ नगरपालिका र कुस्मा नगरपालिकाले विशेष चासो र निगरानी गरेका कारण पनि तोकिएको समय भन्दा पहिले नै गुणस्तरीय रूपमा पुलको काम सकिने सुवेदीको भनाई छ ।
झोलुङ्गे पुलको नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, पार्वती जन्मिएको भनी विश्वास गरिएको पाङ, पार्वती गुफा, सहस्रधारा, कालीगण्डकी नदीको बहाव लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन् । पुलकै छेउबाट धौलागिरी हिमालको सुन्दर दृश्य अवलोकन गर्ने सकिने र सो दृश्य हेर्न पनि पर्यटक आकर्षित हुने स्थानीयले अपेक्षा राखेका छन् । पुल निर्माणपछि पर्वतको कुस्मा नगरपालिकाको पाङ्ग र बागलुङको सदरमुकाम बागलुङ बजारबीच आवतजावतमा समेत सहज हुनेछ । बागलुङ बजारबाट पाङ्ग पुग्न पैदल मार्गमार्फत डेढ घण्टा लाग्ने गरेकोमा पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । पर्यटकीय र कृषिको उर्वर भूमि मानिएको पाङ्गलगायत अन्य वडाहरूको विकासमा पनि यो झोलुङ्गे पुलले टेवा पु¥याउने छ ।
पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जोड्ने पुल निर्माणका लागि पटक–पटक प्रयास भए पनि पुल लामो दुरीको हुने भएकाले लट्ठा तान्ने प्रविधि नेपालमै नभएको भनेर रोकिँदै आएको थियो । तर पर्वतबाट राष्ट्रिय सभाको अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिनाको विशेष पहल तथा पाङ र बागलुङवासीहरूको पटक पटकको दबाबमा नेपाल सरकारले चिनियाँ प्रविधिको लट्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट दिएपछि पुल निर्माणको काम अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->