मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतको फलामखानीको प्रयोगशाला रिपोर्ट आउन चार महिना लाग्ने

पर्वतको फलामखानीको प्रयोगशाला रिपोर्ट आउन चार महिना लाग्ने


  • संजय रेग्मी
  • फाल्गुन ४ २०७६, आइतबार

पर्वत,४ फागुन –  देशमा रहेका खानी तथा तत्वहरुको उत्खनन् नहुँदा आयातमा मात्र निर्भर रहनु परेको बेलामा पर्वतको महाशिला गाउँपालिकामा रहेको फलामखानी उत्खनन् गर्नको लागि प्रारम्भिक अध्ययन सहितको सर्वेक्षण गर्न सुरु भएको छ ।
महाशिला गाउँपालिको वडा नं. ५ लुँखुदेउराली र वडा नं. ६ फलामखानीमा रहेकोे खानीबाट वर्षौं पहिलेसम्म फलामको धाउ निकालेर स्थानीयले प्रयोग गर्ने गरेको भए पनि पछि भने त्यो काम रोकियो । पछाडि नीजि कम्पनीले उत्खननका अनुमति लिएर पनि काम हुन नसकेपछि महाशिला गाउँपालिकाले नेपाल सरकारसँगको सहकार्यमा फलाम उत्खनन्को सम्भाव्यताका बारेमा अध्ययन थालेको हो ।
ठूलो क्षेत्रफलमा फैलिएको फलामखानीलाई उत्खनन गर्न सकेमा आर्थिक समृद्धिको सम्भावना देखेर पालिकाले यसका लागि आवश्यक पहल गरेको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताए । ‘फलामखानी उत्खनन्का लागि सर्वेक्षण प्रक्रिया थालनी गरिएको छ । अब प्रारम्भिक सर्वेबाट आएको नतिजा अनुसार हामीहरू अगाडि बढ्ने छौँ ।’ ठकुरीले भने, ‘निर्वाचनको बेलामा मत माग्न जाँदा स्थानीयले पनि फलामखानीको उत्खनन् हुनुपर्छ भन्नुभएको थियो । हामीले गरेको बाचाअनुसार धाउ निकालेर पालिकालाई समृद्ध बनाउने एउटा माध्यमका रूपमा यसलाई लिएका छौँ ।’
केही वर्षदेखि निजी क्षेत्रको बुटवल सुनवल पर्वत खनिज उद्योग प्रणालीले खानी विभागबाट अनुमति लिएर अध्ययन गरेको थियो । तर, लामो समयसम्म पनि उत्खनन् नगरी प्राकृतिक श्रोतलाई झोलामा राखेको भन्दै उक्त अनुमति खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेपछि उक्त निजी कम्पनीले फलाम उत्खनन्को काम अगाडि बढाउन पाएको थिएन । प्राकृतिक स्रोतहरूमा माफियाहरूको एकाधिकार रहेकोले त्यसलाई रोक्नका लागि महाशिला फलामखानी सरोकार समिति गठन गरि सर्बोच्च अदालतमा अनुमती खारेजीको माग दाबीसहित मुद्दा दायर गरेपछि अनुमति खारेज गरेर फलामखानीलाई खानी विभागको नाउँमा राखिएको प्रवक्ता ठकुरीको भनाई छ ।
निजी क्षेत्रको बुटवल सुनवल पर्वत खनिज उद्योग प्रणालीले गरेको अध्ययन प्रतिवेदनको वास्तविक अवस्था के थियो भन्ने थाहा पाउन पनि अहिले इआरटी प्रविधिमार्फत अध्ययन थालिएको छ । गाउँपालिकाका प्रमुख राजु पौडेलले निजी क्षेत्रको कम्पनीले गरेको पूर्वअध्ययनको विषयमा पत्ता लगाउनको लागि पनि जमिनभित्र करेन्ट पठाएर गरिने इआरटी परीक्षणमार्फत खानीको सम्भाव्यताको अध्ययन भइरहेको बताए ।
परीक्षणसँगै फलाम रहेको क्षेत्रमा फैलिएको चट्टानको नमुनासमेत परीक्षणको लागि छिमेकी चीनको प्रयोगशालामा पठाइएको छ । यसको नतिजा आउनको लागि कम्तीमा पनि चार महिना लाग्ने र सकारात्मक नतिजा आएमा उत्खनन् प्रक्रियाको लागि निजी वा सरकारी प्रयासबाट काम अगाडि बढाउने गाउँपालिका प्रमुख पौडेलको भनाई छ ।
फलामखानी उत्खनन्को सम्भाव्यताका बारेमा अहिले प्रारम्भिक अध्ययनको काम चलिरहेको र यसको नतिजा आउन कम्तीमा पनि चार महिना लाग्ने भए पनि केही सञ्चारमाध्यममा उत्खनन् नै सुरु भएको सन्देश दिने गरी समाचार प्रकाशन भएका थिए । फलाम उत्खनन् हुन लागेको भनी आएको अफवाहका कारण बस्ती, घर, जग्गा, वातावरणका विषयमा धेरै प्रभावितले फोन र सामाजिक सञ्जालमा जिज्ञासा राखेको गाउँपालिकाका प्रवक्ता ठकुरीको भनाइ छ ।
‘यो प्रारम्भिक अनुसन्धान मात्रै हो, यसको नतिजा सकारात्मक आएमा बृहत् योजनाका रूपमा अगाडि बढ्ने छ ।’ उनले भने, ‘उत्खनन् नै हुने कुरा सुन्दा बस्ती, घर, जग्गा, वातावरणको विषयलाई लिएर केही दिनदेखि अत्यन्तै धेरै प्रभावितहरूले फोन र सामाजिक सञ्जालमार्फत जिज्ञासा राख्नुभएको छ । कतिपय सन्देशहरू भ्रमपूर्ण रहेका हुँदा आगामी दिनमा हुने सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन सबैको सहभागितामा हुने छ ।’
काठमाडौंमा केही समय अगाडि भएको एक्स्पो मेलामा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन उद्योग मन्त्री मातृका यादव, मन्त्रालयका सचिव, खानी विभागका प्रमुख, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका लगायतका ब्यक्तिहरुसँगको अन्तरक्रियापछि फलामखानी उत्खनन्को लागि प्रारम्भिक ध्यानाकर्षण भएको प्रवक्ता ठकुरी बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->