बागलुङ, ८ फागुन– बिप्लब नेतृत्वको नेकपाको सदस्य रहेर ध्वंसात्मक गतिविधिमा संलग्न भएकोले पक्राउ परेका एक युवकले आत्मसमर्पण गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं. ७ कालीमाटी घर भएका ४० बर्षिय लालबहादुर नेपालीले बिहिवार जिल्ला प्रशासन कार्यालयमा आत्मसर्मपण गरेका हुन् । २४ दिन अघि पक्राउ परेर हिरासतमा रहेका नेपालीले ध्वंसात्मक गतिविधिमा नलाग्ने, स्वतन्त्र भएर कृषि तथा पशुपालन गरेर बस्ने प्रतिवद्धता जनाएपछि प्रशासनले उनलाई ६ हजार धरौटीमा रिहाई गरेको हो ।
बिहिवार प्रशासनमा आयोजित कार्यक्रममा नेपालीले पार्टी परित्याग गरेर स्वतन्त्र बस्ने प्रतिवद्धता सहितको बिज्ञप्ती प्रकाशित गरेका थिए । उनले उक्त बिज्ञप्ती सहित प्रशासनले तयार पारेको पत्रमा पनि हस्ताक्षर गरे । २०७५ सालको फागुनदेखि सरकारले बिप्लब नेतृत्वको नेकपाको गतिविधिलाइ प्रतिवन्ध लगाएको थियो । उनले अबदेखि प्रचलित कानून र नेपालको संविधान बिपरितका काम नगर्ने बताएका छन् । उनलाई तारेखमा छाडिएको छ । प्रशासनमा आएकी नेपालीकी श्रीमती गीता नेपाली र दाइहरु जीतबहादुर परियार र दलबहादुर दमैले पनि पारिवारिक रुपमा अन्य क्रियाकलपमा लाग्न नदिने गरी बुझेका थिए ।





