बागलुङ, १० फागुन – नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर बागलुङका बिभिन्न संघ संस्थाहरुले यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि मोटरसाईल ¥याली गरेका छन् । शुक्रबार शिवरात्रीको दिन पारेर बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रसार प्रसारको लागि मोटर साईकल ¥याली गरिएको हो । ‘राईट टु डोहेरी हाईट टु दाह्रेगौंडा’ (कान्छो धौलागिरी सम्मको यात्रा नाम दिईएको मोटर साईकल यात्रा गरिएको हो । पुष्पाञ्जली ग्रामिण विकास केन्द्रको व्यवस्थापन र बागलुङ पर्यटन विकास समितिको आयोजनामा कालिका भगवती मन्दिर गेटदेखि पञ्चकोट– भीमापोखराको ऐतिहासिक भीमादरबारहुँदै डोहेरीसम्म मोटरसाईकल यात्रा गरिएको केन्द्रका अध्यक्ष बिक्रम शर्माले बताए । बागलुङ बजारदेखि ७० मोटरसाईकल भीमाबारसम्म पुगेका थिएभने दर्जन बढी मोटरसाईकल यात्री डोहेरीसम्म पुगेको निर्वतमान अध्यक्ष प्रेम केसीले जानकारी दिए ।
¥यालीमा सहभागी युवाहरुले भीमापोखराको मुख्य पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको अवलोकन गरेका थिए । भीमापोखरामा ऐतिहासिक भीमादरबार, कान्छो धौलागिरी डोहेरी, विभिन्न देवीदेवताका मन्दिर, माहरानी थान जस्ता धार्मिक स्थल रहेका छन् ।
मोटरसाईकलमार्फत डोहेरी पुगेका पर्यटनकर्मीहरुले स्थानीयसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले डोहेरीलाई कृषि फर्मको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । डोहेरीमा आलु उत्पादन, पशुपालन, माछा पालनको लागी उपयुक्त मानिन्छ भने जडिबुटी पनि पाउन सकिन्छ ।
कार्यक्रममा पर्यटन विकास अभियन्त कृष्ण केसी, बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, भीमापोखरा स्वास्थ्यचौकी ईन्चार्ज सोमराज पाण्डे, विष्णु सापकोटा, कालिका भगवती गुठी व्यवस्थापन समितिका सदस्य निशान खडका, मालिका सेवा समाजका अध्यक्ष दुर्गा केसीले बोलेका थिए । कार्यक्रम पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, रामप्रसाद शर्माको स्वागत र प्रेम केसीको संचालनमा सम्पन्न भएको थियो ।
शिवरात्रीको अवसर पारेर पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले आयोजना गरेका बिभीन्न प्रतियोगितात्मक तथा सांगितीक कार्यक्रमअन्तर्गत शुक्रबारका कार्यक्रम बर्षाका कारणले प्रभावित भएका छन् । केन्द्रले खुल्ला वडा स्तरीय भलिवल प्रतिोगिता, सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरेको थियो । भलिवलमा सेमिफाईनल चरणका खेलहरु बर्षाका कारण प्रभावित भएको संस्थाका अध्यक्ष बिक्रम शर्माले बताए ।





