बागलुङ, ११ फागुन – मानवसेवा आश्रम संचालनकालागि रकम संकलन गर्न राष्ट्रिय कलाकारहरुको जमघटमा बागलुङमा सांगितीक साँझ आयोजना गरिएको छ । गलकोट युथ गु्रपको आयोजनामा सबैका लागि नाना, छाना र खाना, हाम्रो चाहना भन्ने नाराका साथ सांगितीक साँझ आयोजना गरिएको हो । सांगितीक साँझमा बागलुङको गलकोट घर भएर देशबिदेशमा ख्याती कमाएका कलाकारले प्रस्तुती गरेका थिए । सडकमा अलपत्र परेका, छोराछोरीले छाडेका आमाबाबु, विभिन्न घटनामा परेर घरबार बिहिन भएकाहरुलाई मानवसेवा आश्रममा राखिएको छ । बागलुङ स्थित आश्रममा ३५ जना सहयोगापेक्षीहरु छन् । उनीहरुको दैनिक खानपान, बसाई र लगाउने कपडा तथा नियमित औषधिउपचारका लागि समेत खर्चको अभाव भएको थाहा पाएपछि गु्रपले कलाकार बोलाएर सांगितीक साँझ आयोजना गरेको हो ।
गु्रपका अगुवा प्रकाश कार्कीले नेतृत्व गरेर यो अभियान संचालन भएको थियो । सांगितीक साँझमा संकलन भएको रकम गु्रपले मानवसेवा आश्रमलाई हस्तान्तरण समेत गरेको छ
शनिवार सदरमुकाम स्थित ब्राउनआईज व्याङकेटमा आयोजित सांगितीक साँझमा चर्चित कलाकारहरु बिष्णु खत्री, बसन्थ थापा, श्रीकृष्णबम मल्ल, लक्ष्मी मल्ल, थानेश्वर गौतम, इश्वर सिंह लगायतले प्रस्तुती दिएका हुन् । उनीहरुले चर्चित गीत संगीत प्रस्तुत गरे । बिष्णु खत्रीले लोकभाखामा दर्शकलाई झमझमी नचाए । बसन्थ थापाले सांगितीक साँझमा खेतमा बोके झार, सालकोपातको टपरी हुने, नहुने सल्लैको गीत गाए । थापाको संगीत रहेको उहीखोलाको पानी, उहीखोलाको माछी गीतमा सयौंले नाँचेर साथ दिए । थापाले लक्ष्मी मल्लको संयुक्त स्वरमा सिरुपाते जुंगामा टोपी ढाकैको गीतमा पनि युवालाई नचाएका थिए ।
श्रीकृष्णबम मल्लले मानवसेवा आश्रमको कार्यक्रम भन्दै आमा सम्बन्धी गीत गाए । उनले रैछौ रन पनि छक्कै परे म पनि गीतमा धेरैलाई नचाउन सफल भए । इश्वर सिंहले जाले रुमाल र माया सलल जस्ता गीत गाए । थानेश्वर गौतमले गीतसँगै गजलले पनि दर्शकको मनोरञ्जन दिए । मानवसेवा आश्रमले तयार पारेको आमा र लौरो नाटक पनि उक्त अबसरमा प्रर्दशन गरियो । ती दुवै नाटकले अभिभावकलाइ आफ्नै छोराछोरीले स्याहार सुसार गरेर पाल्दा आश्रमहरुको आवस्यकता नपर्ने सन्देश दिएको थियो । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आमाबाबु सम्बन्धी प्रवचन समेत दिएका थिए । गु्रपका अगुवा प्रकाश कार्कीको अध्यक्षता र पत्रकार थमन थापाको संचालनमा सम्पन्न कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले युवाहरुले मानवसेवाका लागि गरेको कामको प्रसंसा गरे । नेपालीले आश्रमका लागि १ लाख १ हजार रुपैयाँ नगद सहयोग पनि गरेका थिए ।
तीन बर्ष अघि स्थापना भएपछि बागलुङमा सडकमा अलपत्र पर्ने कोही पनि मानिसलाई आश्रममा लगेर राख्ने गरिएको छ । दानमुठीकै भरमा आश्रम चलाइएको छ । केही व्यक्तिले जन्मदिनको अवसरमा आश्रममा सहयोग गर्न थालेका छन् । यहाँ बालबालिका समेत रहेकोले पढाउने चुनौती पनि थपिएको छ । नियमित उपचार, हेरचाह र खानेबस्ने समस्या बढ्दै गएपछि आश्रम संचालकहरुले दिगो कोषको खोजी गरिरहेका थिए । ‘सामान्य खर्च चलेपनि नदेखिने खर्च धेरै छ’ आश्रमकी संचालक सुमिरा लामाले भनिन्, ‘सहजै संचालन हुने अबस्था आएपछि श्रोत थप्दै अक्षयकोष पनि बनाउने योजना छ ।’ आश्रमले देशभर ९ वटा शाखा संचालन गरेर सडक मानवलाई पालनपोषण गरेको छ ।





