पर्वत,१२ फागुन – पर्वतको जलजला गाउँपालिका बिभिन्न वडाका कृषकहरुको खेत र बारीको माटोलाई नमूनाका रुपमा परीक्षण गर्दा मोटोमा अम्लीयपनको मात्रा बढेको पाइएको छ । कृषि उत्पादनका हिसाबले उत्पादनयोग्य भूमि रहेको मानिने जिल्लाको उत्तरी क्षेत्रमा रहेको जलजला गाउँपालिकाका कृषकहरूको खेत र बारीको माटो परीक्षण गरिएको हो ।
प्रत्येक कृषकको खेतबारीको माटो जाँचियोस् भन्ने उद्देश्यले माटो परीक्षण शिविर नै राखेर माटो परीक्षण गरिएको हो। अहिलेसम्म वडा गाउँपालिका अन्तर्गत मल्लाज, लेकफाँट, नाग्लीवाङ र बनौँका ४ सय ५१ जना कृषकहरूले नमुनाका रूपमा ल्याएको माटोको परीक्षण गरिएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख राजु गौतमले शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा अम्ल र क्षार बढी भएको भेटिएको बताए । ‘सबै कृषकहरूको खेतबारीको माटो परीक्षण त भइसकेको छैन। अहिलेसम्म ४ सय ५१ जनाको परीक्षण भएको छ ।’ उनले भने, ‘अहिलेसम्म परीक्षण भएको रिपोर्टबाट माटोमा अम्ल र क्षारको मात्रा बढी भएको भेटिएको छ। यसलाई स्वस्थ माटो भन्न सकिँदैन ।’
किट बक्सको प्रयोगबाट माटो परीक्षण गर्ने क्रममा ४ सय ५१ कृषकहरूमध्ये ३ सय ७७ जनाको नमुना माटोमा अम्लीयपन, ८ जनाकोमा क्षार तथा ६६ जनाको तटस्थ रहेको पाइएको छ । यस्तै, ४ सय १३ जनाको माटोमा नाइट्रोजनको कमी रहेको पाइएको छ । यसैयरी, ३६ जना कृषकहरूको माटोको अवस्था मध्यम, २ जनाकोमा अधिक मात्रामा नाइट्रोजन, २ सय ९७ नमुनामा फस्फोरसको कमी, १ सय १२ वटा नमुना मध्यम, ४२ नमुनामा फस्फोरस अधिक, २ सय ८५ नमुनामा पोटासको मात्रा न्यून, ८० नमुनाको अवस्था मध्यम र ८६ नमुनामा पोटासको मात्रा अधिक देखिएको थियो ।
कृषि शाखा प्रमुख गौतमले अहिलेसम्म परीक्षण गरिएको नमुनाको अवस्था विश्लेषण गर्दा जलजला गाउँपालिकाको माटोमा अम्लीयपन औसत देखिएकोले कृषकहरूले केही सावधानी अपनाउनुपर्ने बताए । ‘आत्तिनुपर्ने अवस्था त छैन तर अम्लीयपन बढी देखिएको छ । अम्ल औसतमा छ भन्न मिल्छ ।’ उनले भने, ‘माटोमा देखिएको अम्ल र क्षारको मात्रालाई नियन्त्रण गर्नको लागि कृषि चुनको प्रयोग उत्तम हुन्छ । त्यसको लागि पनि कृषि प्राविधिकहरूको सल्लाह लिनुपर्छ। आफ्नै तरिकाले प्रयोग गर्नु हुँदैन ।’ कृषि चुनबाहेक पर्याप्त मात्रामा कम्पोस्ट मलको प्रयोग गर्ने हो भने अम्लीयपन घट्ने उनको भनाई छ । उत्पादन छिटो र धेरै हुने लोभमा परेर मनपरी तरिकाले रासायनिक मलको प्रयोग गरिनुले पनि माटोको गुण बिगार्ने भएकोले रासायनिकको मल प्रयोग गर्दा प्राविधिकहरूको सिफारिस र सल्लाहमा मात्र गर्नुपर्ने कृषि क्षेत्रका प्राविधिकहरू बताउँछन् ।
विभिन्न कार्यक्रमहरू मार्पmत कृषकहरूलाई सघाउँदै आएको पालिकाले आफ्नो वार्षिक कार्यक्रम अनुसार नै हरेक कृषकको खेतबारीको माटो परीक्षण गरिएको गाउँपालिका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताए । गाउँघरमा अभैm पनि माटो परीक्षण गरेर खेतीपाती गर्ने प्रचलन नरहेकोले कृषकहरूले लगाउने खाद्यबालीहरुको उत्पादन सोचेजस्तो नहुने उनको भनाई छ । माटो परीक्षणपछि आएको रिपोर्ट अनुसार माटोमा सुधार गरी सोही अनुसारको खेती गर्नुपर्छ, माटो स्वस्थ हुनुपर्छ भन्ने सन्देश दिनको लागि पनि गाउँपालिकाले सबै कृषकहरूको माटो परीक्षण गर्ने योजना बनाएको मल्लले जानकारी दिए ।





