आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाड खोलामा पुल बन्यो, सडकमा सास्ती

बडिगाड खोलामा पुल बन्यो, सडकमा सास्ती


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७६, सोमबार

बागलुङ, १२ फागुन – बुर्तिवाङदेखि ढोरपाटन जानेगरी बडिगाड खोलामा पक्की पुल निर्माण भएको छ । यो पुलले ढोरपाटन बजारदेखि पश्चिम तर्फको खण्ड जोडेको छ । खोलामा पुल नभएकोले दैनिक ढोरपाटन जाने तथा निसीखोलातर्फ जाने सयौं मानिसले हैरानी खेप्थे । गत महिना यो खोलामा पक्की पुल निर्माण भएको छ । सडक बिभागले पुल बनाएपछि सवारी साधन रोकिने समस्या हटेको छ ।

तर ढोरपाटन जाने सडक भने बर्षौदेखि अलपत्र जस्तै छ । बुर्तिवाङदेखि बोबाङ सम्मको खण्ड केही सहज भएपनि त्यसदेखि माथीको खण्ड अप्ठ्यारो छ । ढोरपाटन नगरपालिका क्षेत्रमा पर्ने भएपनि यो सडक ढोरपाटन सालझण्डी सडकमा सूचिकृत छ । राजमार्गको रुपमा सूचिकृत भएकोले आयोजनाले यो सडकको काम गर्ने जिम्मा छ । तर बर्षौदेखि यो खण्डमा आयोजनाले लगानी गरेको छैन । पर्यटकीय स्थल र नेपालको एक मात्र शिकार आरक्ष भएपनि ढोरपाटन पुग्नेले सडककै समस्याले सास्ती खेपिरेका छन् ।
बुर्तिवाङदेखि ३६ किमी पश्चिममा पर्ने ढोरपाटन सम्मको सडक सहज भएमा अहिले पुग्नेको तुलनामा चारगुणा पर्यटक लैजान सकिने स्थानीय बताउँछन् । दशकदेखि स्थनीय तह र ग्रामीण सडकको रुपमा परेको बजेटले खनिएको ट्रयाकमा थप बिस्तार र सुधार नभएकोले पयटक जान समस्या परेको हो । पोखरा, चितवन र काठमाण्डौका मानिसले ढोरपाटनको यात्रा गर्न खोज्छन्, सडक अप्ठ्यारो छ भनेपछि कार्यक्रम रद्द गरिरहेको नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । हरेक बर्षातमा परेका खाल्डाखुल्डी पुर्ने काममा नगरपालिकाले लगानी गरिरहे पनि ठूलो लगानी भने नभएको हो । आयोजनाले गर्ने भएपछि नगरपालिकाले ठूलो लगानी गर्न नसकेको उनले बताए । आयोजनाले भने यो खण्डमा बजेट पारेकै छैन । सडक अप्ठ्यारो भएपछि बोबाङ, फलेघर र देउरालीमा यात्रा गर्न सास्ती छ । ढोरपाटनमा झण्डै १ हजारबढी घरधुरी छन् । उनीहरुको दैनिक खाद्यन्न ढुवानी बुर्तिवाङबाटै गर्नुपर्छ । दैनिक घुम्नका लागि जाने पर्यटक सवारी साधनमा पुग्न सकेका छैनन् । ‘हिउँदका दिनमा बल्लबल्ल पुगिन्छ, हिउँ र पानी पर्दा चिप्लो र उकालो बाटोले सवारी फस्छन्’ बोबाङका शिक्षक यामबहादुर कायतले भने, ‘ढोरपाटन घुम्न आएका पर्यटक धेरैजना बोबाङबाटै फर्कन्छन् ।’ कतिपयले सवारी राखेर पैदलै जान बाध्य भएको पनि उनले बताए ।

ढोरपाटन, बोबाङ र फलियाघरका धेरै किसानको यस्तै समस्या छ । बर्षौदेखि चर्चामा रहेपनि ढोरपाटन सालझण्डी सडक निर्माणमा ढिलाई हुँदा उनीहरुले यस्तै सास्ती खेपिरहेका छ् । सडककै अभावमा ढोरपाटनका किसानले आलु फलाएर सहजै बजार पठाउन पनि सकेका छैनन् । किसानको सास्ती बढेपछि जनप्रतिनिधिले पनि यो सडकको निर्माणमा दवाव दिन चासो बढाएका छन् । हेलिकोप्टर चढेर सिकारका लागि जाने बिदेशी सिकारी बाहेकका सबै पर्यटकले पनि ढोरपाटन घुम्न जाँदा सास्ती खेप्छन् । सडक चिप्लो र ग्रेड नमिलेकोले दुर्घटनाको खतरा बढी छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा बाटो चिप्लो र जोखिम छ । साँघुरो ट्रयाक, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको स्थानीय सवारी चालक खगेन्द्र बिश्वकर्माले बताए । ‘बर्षातमा पानी पर्दा र हिउँदमा हिमपात हुँदा ढोरपाटन जानै सकिंदैन’ विश्वकर्माले भने, ‘बचाएर सवारी चलाउनै नसकिने बाटो छ ।’ ग्रामीण सडकको ट्रयाक खुलेकै बाटोलाई आधार बनाएर सालझण्डी ढोरपाटन आयोजनाले काम अगाडि बढाएको आयोजना प्रमुख होमबहादुर केसीले बताए । हिउँदमा सडकको स्तरउन्नती गर्ने भनेपनि अहिले सम्म काम शुरु नभएकोले स्थानीय र पर्यटकले सास्ती खेपेका हुन् ।

ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले सडकको अबस्था बारे आयोजनामा चासो राख्दा पनि ढिलाई भएको टिप्पणी गरे । ‘मैले भनिरहेको छु, नगरपालिकाको बजेटले गर्न सकिंदैन, आयोजनाले आलटाल गरिरहेको छ’ नेपालीले भने, ‘जनताको पक्षमा काम गर्नेभन्दा ढिलाई, कमिसन र नाफाका लागि गर्नेबाट बिकास अवरुद्ध भएको छ ।’ आयोजना छिटो सक्न केन्द्रीय र प्रदेश सरकारमा धाएको उनले बताए । राष्ट्रिय आयोजना भएकोले संघिय सरकारले गर्ने भनेपनि केही अधिकार प्रदेशले खोज्दा काममा अबरोध आएको उनले टिप्पणी गरे ।
आयोजना प्रमुख जयलाल मरासिनीले रकम अभावमा काम ढिलाई भएको बताए । ‘दुइसय किमी सडकमा २५ करोड बजेट छ । कता मात्रै खर्चने ?’ मरासिनीले भने, ‘यो बजेटले भत्केका स्थानमा मर्मत गर्दैमा ठिक्कै छ ।’ उक्त बजेटमध्ये अर्घाखाँचीतर्फ बढी खर्च गरिएको उनले स्विकारे । पाल्पा खण्डमा केही लगानी गरेका छौं, ढोरपाटनको नजिकै झण्डै २ करोड बजेटको हुने उनले बताए । ‘आयोजनाको तर्फबाट ३ अर्व ९८ करोडको बजेट माग भएकोमा बिनियोजन नभएर काम नभएको हो’ उनले भने, ‘नेपालका सांसदहरु आँफै नीति बनाउन र बजेट बिनियोजन गर्न ढिला गर्छन्, अनि प्राविधिकले काम गरेन पनि भन्छन् ।’ बजेट आउने निश्चित भएमा काम गर्न समय नलाग्ने उनले बताए । ‘चालु बर्ष ठेक्का खुलाएर सबै काम दुइदेखि तीन बर्षमा सक्न म तयार छु ।’ उनले भने ।
बागलुङको राजकुत, दर्लिङ र ढोरपाटन क्षेत्रमा यो सडक पुरै जोखिमको छ । केही स्थानमा ट्रयाक समेत परिवर्तन गर्नुपर्ने भएपछि पहिला खनिएको खण्ड अलपत्र परेका छन् । अलपत्र परेको केही खण्डमा गाउँपालिकाको बजेट लगाएर ग्रामीण सडक बनाएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । बागलुङ खण्डको अझै डिपिआर समेत नभएको टिप्पणी नेपालीले गरे । घुम्तीहरु फराकिलो बनाउने र ग्रेड मिलाउने काम भएपनि जनताले राहत पाउने उनले बताए । ढोरपाटनदेखि सालझण्डी १ सय ९५ किमी दुरी पर्छ । यो सडक बनेमा लुम्बिनी आएका सबै पर्यटक ढोरपाटन ल्याउन सकिन्छ । हाल सन्धीखर्क सम्मको सडक मात्र स्तरीय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->