बागलुङ,१३ फागुन – जिल्ला अस्पताल जत्तिकै सेवा सुबिधा दिने गरी बुर्तिवाङको प्राथमिक स्वास्थ्य चौकी संचालन छ । दरबन्दीमा करार थप गरेर तीन जना डाक्टरले यहाँ सेवा दिएका छन् ।
यहाँ अपरेशन मार्फत सुत्केरी हुनेलाई पनि सेवा छ । तर अपरेशनपछि रगत दिने युवालाई खोज्नु पर्छ । यहाँ रक्तसंकलन केन्द्र नभएकोले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेर मात्र अपरेशन गर्नुपर्ने बाध्यता भएको कार्यरत डाक्टरहरु बताउँछन् ।
जनसंख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकोले दैनिक डेढसय जना सम्म बिरामी आउने गर्छन् । तर यहा“ आबस्यक दरबन्दीका स्वास्थ्यकर्मी र रक्त संचार भने अभाव भएको हो । यो केन्द्रमा एम्बुलेन्स पनि अभाव छ । चाहियो भने ग्वालीचौर र भिमगिठेबाट मगाउनु परेको अस्पतालका प्रमुख डा. मिलन मल्लले बताए । एम्बुलेन्स नपाएर बिरामीले ट्याक्सी खोजेर पाल्पा कुद्ने समस्या खेप्ने गरेका छन् ।
अहिले पनि यहा ३ जना डाक्टर कार्यरत छन् । तर उपकरण, एम्बुलेन्स र नर्सिङ तथा अन्य सहायक तहका स्वास्थ्यकर्मी अभावले दैनिक उपचारमा समस्या पर्ने गरेको मल्लले बताए । जिल्ला अस्पतालझै चौबिसै घण्टा इमरजेन्सी सेवा, ओपिडी, बहिरंग, एक्सरे, भिडियो एक्सरे, इसिजी, ल्याब लगायतको सेवा पाइने भनेर केन्द्रमा सूचना टा“गिएको छ । ‘उपचार मात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ’ मल्लले भने, ‘उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।’ बिभागीय रुपमा दरबन्दी पुरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उनले बताए ।
गत बर्ष नगरप्रमुख देबकुमार नेपालीले एम्बुलेन्स आ“फै किनिदिने घोषणा गरेका थिए । तर अहिले सम्म नगरपालिकाको तर्फबाट समेत खरिद गर्ने प्रकृया अगाडि बढेन । प्रमुखले भने अनुकुलता भएमा एम्बुलेन्स ल्याउने आश्वासन दिएको बताए । ‘अझैपनि ल्याउने प्रयास भैरहेको छ, त्यसका लागि केही गरेर छाड्छु’ नेपालीले भने, ‘गरिब जनताको खुसीकालागि लगानी गर्न तयार छु ।’ दैनिक १० जना सम्म बिरामी अन्यत्र जान खोज्दा ट्याक्सीकै भर पर्नु परेको हो । केन्द्रले खोजी गरेर कहिलेकाही भिमगिठे र ग्वालीचौर चौकीमा रहेका एम्बुलेनस बोलाएर बिरामी पठाएको अर्का डाक्टर दिलिप कोजुले बताए ।
थप उपचारका लागि यहा“बाट अधिकांस पाल्पा र बुटवल तर्फ जाने गर्छन् । थप उपचारकालागि सदरमुकामा आउनु भन्दा बुटवल जान प्रभावकारी भएको स्थानीयले बताए । ‘यहा बसेर अपरेशन गर्नै पर्ने बाध्यता होइन, तर आएका बिरामीलाई टाढा पठाउने कुरा भएन’ मल्लले भने, ‘तत्काल आउने जटिलता स“ग जुध्न चाहिने उपकरण र सवारी साधन नहु“दा समस्या भोगिरहेका छौं ।’ अपरेशन सहितको सेवा दिंदा ल्याव असिस्टेन्ट, मेडिकल अधिकृत र कम्तिमा ३ जना नर्स अभाव भैरहेको उनले बताए ।
यहा“ केन्द्र व्यवस्थापन समितिबाट ५ जना स्वास्थ्यकर्मी करारमा राखिएको छ । ती मध्ये डा. बिबेक यादव एनेस्थेसिया हुन् । उनको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित अपरेशन सेवा दिन सकिने मल्लको भनाई छ । कार्यालय सहायक र प्रशासनको कर्मचारी पनि यहा“ अभाव छ ।
ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तिमा १५ बेडको अस्पताल बनाउन सकिने प्रावधान छ । अस्पताल बनाउने बिषयमा बेलाबेला बहस उठ्दै फेरी सेलाउने गरेको स्थानीय जीतबहादुर भट्टचनले बताए । ‘कुरा चल्छ, फेरी हराउ“छ’ उनले भने, ‘नमूना सहर भनिएकोले सुबिधा सम्पन्न अस्पताल पनि बन्नैपर्छ ।’ भएका चिकित्सकले सेवा भने निरन्तर दिएकोले दुइ बर्षदेखि केन्द्रमा अप्रिय घटना भएको छैन । ‘यहीं डाक्टर भएकोले ज्यान बचाएर बच्चा जन्माउन पाए“’ ढोरपाटन नगरपालिका ९ सुपुरदुङकी २८ बर्षिय अमृता पुनले भनिन्, ‘यहा“ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।’ उल्टो र म्याद काटेकोले अपरेशन गर्नुपर्ने भएपछि उनलाई अन्यत्र नजान सल्लाह दिंदै केन्द्रमै अपरेशन गराइएको थियो ।
पश्चिम बागलुङको केन्द्र बुर्तिवाङमा ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाढ गाउ“पालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गर्छन् । यहा“ मासिक १५ जनाले अपरेशनबाट बच्चा जन्माउने गर्छन् । गत बर्ष यहा“ १ हजार ४ सय बढीले प्रसुती सेवा लिएको तथ्यांक छ । बर्षभरी ८ हजारबढी अन्य बिरामीले उपचार र स्वास्थ्य सेवा लिएका छन् ।





