आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

छुटेका गाउँमा पानी पु¥याउँदै बागलुङ नगरपालिका

छुटेका गाउँमा पानी पु¥याउँदै बागलुङ नगरपालिका


  • Dhorpatan News
  • फाल्गुन १६ २०७६, शुक्रबार

बागलुङ,१६ फागुन – सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ नगरपालिका वडा नं. ६, ४ र ३ मा पर्ने लंगाउँ, भिरलांखुरी, तिनतले, छाप लगायतका गाउँमा मुहानको अभावका कारण सर्वसाधारणले पानीको समस्या खेप्दै आएका छन् ।
बागलुङ बजारमा पानीको समस्या समाधान गर्नका लागि भएका पहल र कामहरुले पनि ति गाउँलाई सम्बोधन गर्न नसकेका कारण त्यहाँका सर्वसाधारण कुवा र घरपरका जंगल छेउमा रहेका पानीका धारामा निर्भर थिए । काठेखोलाको पानी लिफ्टिङ प्रबिधिबाट रात्माटामा तानेर चौबिसै घण्टा बागलुङ बजारमा खानेपानी उपलव्ध गराउने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको योजनामा समेत छुटेका यि गाउँ अब भने योजनामा समेटिने भएका छन् ।
उपभोक्ता संस्थाले तयार पारेको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा यि गाउँहरु छुटेका थिए । पुनः डिपीआर गरेर सबै गाउँमा काठेखोलाको पानीनै पुग्नेगरी योजना सुरु भएको छ । ४७ करोड खर्चेर सहलगानी कार्यक्रमअन्तर्गत निर्माण भैरहेको लिफ्टिङ आयोजनाको पानीनै पहिले पु¥याउने भनिएको भन्दा थप १ सय मिटरमाथि तानेर ति गाउँमा खानेपानी पु¥याउन लागिएको हो । त्यसका लागि झण्डै ७ करोड खर्च हुने छ । त्यो खर्च भने नगरपालिका, उपभोक्ता संस्था र प्रदेश सरकारले संयुक्त रुपमा गर्ने भएका हुन् ।
काठेखोलाबाट रात्माटामा निर्माण हुने १ लाख लिटरको ट्याङ्कीबाट थप झण्डै एक सय मिटरमाथि भिरलांखुरीमा निर्माण हुने १ लाख लिटरको ट्याङ्कीमा पानी तान्नेगरी योजना अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल बताउँछन् । ट्याङ्की निर्माणका लागि नगरपालिकाले ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यसमा थप १० लाख रुपैयाँको श्रमदान जोडिने छ । उक्त रकमले १ लाख ३० हजार र २० हजार लिटरका तीनवटा ट्याङ्की निर्माण हुने नगरपालिकाका इञ्जिनियर गौरव शर्माले बताए । पहिलो चरणमा निर्माण हुने १ लाख लिटरको ट्याङ्कीको बिहिबार नगरप्रमुख जनकराज पौडेलले शिलान्याश गरेका छन् ।
भिरलांखुरीको प्रमुख ट्याङ्कीबाट अरु दुईवटा ट्याङ्कीमा पानी पठाईने छ । त्यहाँबाट वितरण हुने पानी ३ सय ५० घरधुरीमा पुग्ने बागलुङ नगरपालिका–६ का अध्यक्ष खिमराज सापकोटा बताउँछन् । विस्तृत योजनामा समावेश हुन नसकेका गाउँमा पानी पु¥याउनका लागि नगरपालिकाले ट्याङ्की निर्माण गर्ने, उपभोक्ता संस्थाले पाईपलाईन र धाराको काम गर्ने तथा प्रदेश सरकारले प्राबिधिक सहयोग गर्ने गरी त्रिपक्षिय सम्झौता भएको थियो ।
सोही अनुसारनै काम अघि बढेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरी प्रसाद श्रेष्ठ बताउँछन् । बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटरका दरले काठेखोलाको पानी रात्माटामा तान्ने गरि काम भैरहेको छ । दैनिक ६ घण्टा पानी तान्दा उपभोक्ताले चौबिसै घण्टा पानी पाउने डिपिआरमा उल्लेख छ । त्यसमा केही समय थपेर थप ३ सय ५० घरधुरीले पानी पाउनेगरी रात्माटाभन्दा माथी भिरलांखुरीमा पानी तान्न थालिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
ट्याङ्कीहरुको निर्माण उपभोक्ता समतिमार्फत हुने छ । आगामी आर्थिक बर्षको अन्त्य सम्ममा काम सक्ने लक्ष समितिले राखेको छ । ‘हामीले पानीको राजनीति अन्त्यको प्रयास थालेका छौं’ नगरप्रमुख पौडेलले भने ‘सम्भव भएका ठाउँमा मुहान र नभएका ठाउँमा लिफ्टिङ प्रबिधिको प्रयोग गरेर भएपनि नगरका सबै घरमा हाम्रै कार्यकालमा एक घर एक धारा निर्माण गर्ने छौं ।’ आगामी चुनावमा कसैले पनि पानीको बिषयलाई प्रमुख बनाएर जनताको घरदैलोमा नजाने उनले जिकिर गरे । नगरपालिकाका वडा नं ४, ६, ८ र १३ का केही बस्तीमा रहेको पानीको चरम समस्या समाधानका लागि योजना निर्माण भएर काम भैरहेको उनले बताए ।
बिहिबार भएको ट्याङ्की शिलान्याश कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर केसीको अध्यक्षता, वडा अध्यक्ष खिमराज सापकोटाको स्वागत र वडा सचिव रुद्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कायक्रममा प्रभावित क्षेत्रका उपभोक्ता तथा नेकपाका नेता कुमार बिक्रम क्षेत्रीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->