बागलुङ,१६ फागुन – बागलुङ नगरपालिकाका पाँच विद्यालयमा ‘बिद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ सञ्चालनमा आएको छ । नेपाल सरकारको स्वास्थ्य महाशाखा नर्सिङ बिभागले चालु आर्थिक बर्षमा पाईलट परियोजनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । विद्यालयमै नर्स राखेर स्वास्थ्य सेवा प्रवाहका लागि यो कार्यक्रम सञ्चालनमा आएको हो ।
कार्यक्रमका लागि बिहिबार बागलुङ नगरपालिका, सम्बन्धित बिद्यालय र महाशाखाका प्रतिनिधिहरुका बिचमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार, महाशाखाले बनाएको कार्यबिधिमा रहेर बागलुङ नगरपालिकाले पाँच बिद्यालयका लागि नर्सिङ पढेका एक÷एक जना शिक्षिका उपलव्ध गराउने छ । प्रत्येक बिद्यालयमा एक जना नर्सिङको मासिक पारिश्रमीकसहित उनीहरुको तालिमको व्यवस्था महाशाखाले गर्नेछ भने विद्यालयले उनीहरुको परिचालन गर्ने उल्लेख छ ।
नेपाल सरकारले पूर्ण स्वस्थ्य नागरिक बनाउनका लागि संबैधानिक व्यवस्था भए अनुरुप यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । बिषेश गरेर बिद्यालयमा रहेका छात्राहरुमा महिनावारीको समयमा हुने समस्या, प्रजनन स्वास्थ्य, लागुऔषध तथा अन्य स्वास्थ्यसँग सम्बन्धित बिषयमा विद्यार्थीलाई सचेत गराउँदै जीवन पद्धतिमै सुधार ल्याउन भन्दै कार्यक्रम सुरु गरिएको महाशाखाकी अस्पताल नर्सिङ प्रशासक बाला राईले बताईन् ।
यो कार्यक्रम बिद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यमिक विद्यालयमा सुरु भएको हो । विद्यार्थी संख्या, स्वास्थ्य संस्थाको पहुँच र दुर्गमता लगायतका आधार बनाएर विद्यालय छनौट भएका थिए । ‘यो सरकारले ल्याएको राम्रो कार्यक्रम हो, सहकार्यमा यसलाई उपलव्धीमुलक बनाउँछौं’ नगर प्रमुख जनकराज पौडेलले भने ‘नमुनाका रुपमा केही बिद्यालयमा सञ्चालनमा आएको भएपनि सबै विद्यालयमा कार्यक्रम पु¥याउने लक्ष छ ।’
कार्यक्रम सञ्चालनका लागि नगर स्तरमा उप–प्रमुखको संयोजकत्वमा समन्वय समिति र विद्यालयमा प्रधानाध्यापकको नेतृत्वमा शिक्षिका र विद्यार्थीको सहभागितामा विद्यालय समन्वय समिति बन्ने छ । यो कार्यक्रम सञ्चालनका लागि विद्यालयले नगरपालिकाबाट नियुक्त भएर आउने नर्सहरुका लागि छुट्टै कार्यकक्षको व्यवस्था गर्नुपर्ने प्रावधान छ ।
स्वास्थ्यको बिषयमा कक्षा सञ्चालनका अलवा यो कार्यक्रम लागु भएका विद्यालयमा विद्यार्थीका लागि नर्सहरुले अन्य योगदान समेत गर्ने छन् । ‘यसको निश्चित मापदण्ड छ सोही अनुसार परिचालन गर्ने हो, गलत बुझाई नहोस् नर्सले शिक्षकको अभावमा पढाउने होईन, जीवन पद्धतीमा सुधारका लागि स्वास्थ्यका कारण हुने अबरोध हटाउन विद्यार्थीहरुलाई तयार पार्ने हो ।’
महाशाखाका प्रशासक राईले भनिन् ‘सामान्य चोटपटकको उपचारदेखि सचेतना कार्यक्रम सञ्चालन सम्मको दायित्व नर्सहरुमा हुन्छ ।’ सबै विद्यालयका प्रधानाध्यापकले वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षको रोहवरमा सम्झौतामा हस्ताक्षर गरेका थिएभने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले नगरप्रमुखको उपस्थितीमा हस्ताक्षर गरेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले गरेका थिए ।
प्रदेश नम्बर १ र बाग्मती प्रदेश सरकारले आफ्नै कार्यक्रमको रुपमा थालनी गरिसकेको छ । प्रदेश नं. २ ले तयारी गरेको राईको भनाई छ । गण्डकीमा भने बागलुङ जिल्लामा पहिलोपटक कार्यक्रम सञ्चालनमा आएको हो । चालु बर्षका लागि महाशाखाले नर्सको तलब, औषधि र व्यवस्थापकीय खर्च समेत दिनेछ । तालिम र अन्य सुविधाका लागि पनि महाशाखाले कार्यक्रम संचालन गर्ने उनले बताईन् । अर्को बर्षदेखि स्थानीय तहले आफ्नै कार्यक्रमको रुपमा यो योजना लैजाने गरी प्रोत्साहन गर्न कार्यक्रम ल्याईएको राईले बताईन् ।





