बागलुङ, २२ फागुन – समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसंख्या तर खानेपानीको सधैं अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखेपनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो समयदेखि पानीको अभाव झेल्दै आएका छन् । हाल बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी जसोतसो चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका नारायणस्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकिकृत गरी नारायाणस्थानमा पानी पु¥याईएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।
जिल्लामै पहिलोपटक खानेपानीका लागि लिफ्टिङ प्रबिधि भित्राईएको नारायणस्थानमा अब भने घरघरमै पानी आउने छ । घर घरमा पानी पु¥याउने अभियानको अन्तिम चरणमा प्रवेश गरेकोले चैत्रभित्रै नारायणस्थानका घरघरमा कालीकिनारको पानी पुग्ने खोपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताए । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएको नारायणस्थानको गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताए । नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकी तिरबाट ३ सय ९० मिटरको सिधा उचाईमा पर्ने पानी ट्याङ्कीमा २ हजार ७ सय मिटर दुरीको पाईपले पानी बोक्ने छ । मुहान र पाईपलाईनको मध्यभागमा दुईवटा मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पु¥याईएको अध्यक्ष खत्रीले बताए । यो योजना निर्माण गर्नका लागि झण्डै ८ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ । सुरुवाती लागत भने १० करोड माथिको थियो । ६ करोड ६२ लाख रुपैयाँमा चन्द्र एण्ड बसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । २०७३ सालमा सुरु भएको निर्माणको काम कम्पनीले एक बर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र बिद्युत जडान लगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्नेगरी काम भैरहेको संस्थाका सचिव नारायण श्रेष्ठले बताए ।
कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका १५ सय २५ घरघुरीका करीब ५ हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले बताए । योजनामार्फत ३० हजार २ सय २ मिटर पाइप लाइन बिछ्याउने काम भएको छभने १ हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९ सय ५० भन्दा धेरै धारा जडान भैसकेको संस्थाले जनाएको छ । विद्युतको परीक्षण र प्रसारको काम मात्रै बाँकी रहेकाले बिद्युत प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाई छ ।
‘एक घर एक धारा चौविसै घण्टा पानी आउँछ’ अध्यक्ष खत्रीले भने ‘२० बर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।’ यो योजना नारायणस्थानका ९ ओटै र पैयुँपाटाका ८ र ९ वडामा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड ८ लिटर पानी तान्ने उनले बताए । यसभन्दा पहिले धारापानीबाट २ दशमलव ५ र धापेखोलाको पानी ३ लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकिकृत गरेर उपभोक्तालाई वितरण हुने छ । उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० ओटा भल्भ च्याम्बर निर्माण भएका छन् ।
नारायणस्थामा जनसंख्या बढ्दै गएकाले पनि खानेपानीको माग धेरै छ । बागलुङ नगरपालिकाले यहि कार्यकालभित्रै सबै घरमा खानेपानी पु¥याउने उद्घोष गरे अनुसारनै नारायणस्थानका उपभोक्ताले गर्नुपर्ने नगद योगदानमा सहभागिता जनाएको थियो ।





