पर्वत, २३ फागुन – पर्वतमा नोवल कोरोना भाईरसको सुरक्षात्मक क्रियाकलापहरु संचालन गर्नका लागि जिल्ला प्रशसन कार्यालयको पहलमा सर्वपक्षीय बैठक समेत सम्पन्न भएको छ । प्रशासन कार्यालयकै अग्रसरतामा यसबाट संक्रमित भएको पाइएमा उपचारको लागि विशेष तयारी थालिएको छ । बैठकले कोरोनाको सतर्कताका लागि पर्वत अस्पतालमा एकल उपचार पद्धतिअन्तर्गत ‘आइसोलेसन वार्ड’ स्थापना गरेर त्यसमा कम्तीमा पनि पाँच शय्या राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार पर्वत जिल्ला अस्पतालमा कार्यरत विशेषज्ञ डा. विष्णु भण्डारीको नेतृत्वमा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको छ ।
‘कोरोनाको संक्रमण फैलिन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह, मेला तथा महोत्सवहरू आयोजना नगर्न आग्रह गरेका छौँ ।’ उनले भनिन, ‘पर्वत अस्पतालको व्यवस्थापन समिति र चिकित्सहरुसहित बसेर यसको उपचारको लागि तयारी अवस्थामा रहेका छौँ । कसैमा पनि कोरोना संक्रमण भएको शङ्का पाएमा अस्पतालको क्विक रेस्पोन्स टिमले उपचार थालिहाल्ने छ ।’ सर्वपक्षीय बैठकले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि सम्भव हुने तत्कालीन वा दीर्घकालीन सबै उपायहरू अवलम्बन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको सुरक्षा विधि अपनाउने बहानामा बजारमा कालोबजारी हुन सक्ने र उपभोक्ताहरू आर्थिक रूपमा लुटिने सम्भावना रहेकोले जिल्लाका विभिन्न ठाउँमा रहेका बजार तथा पसलहरूमा नियमित तथा छड्के अनुगमन गर्ने तयारी पनि प्रशासन कार्यालयले गरेको छ ।
उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले उपभोक्ताहरूलाई अप्ठ्यारो पार्ने कालोबजारी वा कृत्रिम अभाव सृजना गरेर महँगी नबढाउन सबै व्यवसायीलाई सचेत गराइएको बताए । कुस्मा नगरपालिकाअन्तर्गत शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले पालिकाभित्रका विद्यालयलाई चैत पाँच गतेभित्रमा वार्षिक परीक्षा सक्न तथा विद्यालय खुल्ने अवधिमा पनि विद्यार्थीलाई संक्रमणबाट जोगिन सतर्कताबारे ज्ञान बाँड्न विद्यालयहरुलाई विशेष जोड दिइएको बताए ।





