पर्वत,२४ फागुन – मुस्ताङ जिल्ला प्राकृतिक कारणले मात्रै होइन, स्थानीय मौलिक कला, संस्कृति र परम्पराका कारण पनि पर्यटकीय गन्तब्यका रुपमा रहेको छ । उत्तरी छिमेकी देश चीनसँग जोडिएको मुस्ताङ यस्तो जिल्ला हो, जहाँ हिन्दू र बौद्ध दुबै धर्मका अनुयायीहरु धर्मकर्मका लागि जाने गरेका छन् ।
कला र संस्कृतिमा धनी रहेको मुस्ताङमा यतिबेला पुरुषहरुको भाग्य खुलाउने पर्वका रुपमा पनि चिनिने तीर हान्ने अर्थात धछ््याङ पर्व चलिरहेको छ । देशका अन्य जिल्लामा नभएका फरकखालका चाड र तीनलाई मनाउने शैली मुस्ताङमा छ । मुस्ताङकै बिभिन्न स्थानीय चाडहरुको माझमा पनि धछ््याङ पर्व विशेष रहेको छ ।
गत बुधवारदेखि बारगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ५ फल्याकमा सुरु भएको यो पर्व एक हप्तासम्म चल्छ । बारगुङ मुक्तिक्षेत्रमा मनाइने यो पर्वलाई तीर हान्दै छ्याङ (एक प्रकारको घरेलु मदिरा) खाने पर्वका रूपमा लिने गरिएको गाउँपालिकाका प्रमुख फेन्चोक छेप्तेन गुरुङ (धारा गुरुङ) ले बताए । ‘वर्षका चार ऋतुहरूमा हामीहरूले यस्तै पर्व मनाउने गरेका छौँ । अहिले मनाइरहेको पर्व पी छ्याङ हो ।’ उनले भने, ‘हाम्रो भोटे भाषामा पी भनेको वसन्त ऋतु हो, ध भनेको धनुषबाण हो र छ्याङ गाउँमा बनाएको एक प्रकारको रक्सी खाने भनेको हो ।’
४÷५ वर्ष अगाडिसम्म लोप हुने खतरामा रहेको यो पर्व संघीयतासँगै बौरिएको खछ । तत्कालीन समयमा परम्परागत पर्वहरूको संरक्षण गर्नका लागि बजेट विनियोजन नहुने भएका कारण लोप हुने अवस्थामा रहेको पर्व जोगाउन अहिले पालिकाले केही बजेट विनियोजन गरेपछि परम्परागत लयमा नै फर्किएको गाउँपालिका प्रमुख गुरुङको भनाई छ । जुन बेलाबाट मुस्ताङमा मानिसहरूको बसोबास सुरु भयो त्यही बेलाबाट नै यो पर्व मनाउन थालिएको विश्वास रहेको मुस्ताङीहरु बताउँछन् ।
पछिल्ला ३÷४ वर्ष यता धछ्याङ मनाउनकै लागि गाउँ छोडेर देशकै अन्य ठाउँमा बसोबास गरिरहेका तथा विदेशमा गएकाहरू पनि आउने गरेका छन् । लोप हुने अवस्थामा रहेको पर्वलाई जोगाउन महिला र युवाहरूको विशेष भूमिका रहने भएका कारण उनीहरूलाई संस्कृति संरक्षणमा लाग्न जोड दिइएको छ ।
धछ््याङ सुरु हुँदाको दिन र अन्तिम दिनमा महिलाहरूले स्थानीय भोटे भाषामा नै गीत प्रस्तुत गरेर सबैलाई स्वागत गर्छन् । उनीहरूले गीत प्रस्तुत गरेपछि छ्याङ खाँदै तीर हान्ने चलन छ । तर ,यसमा पुरुषहरू मात्र सहभागी हुन्छन् । पुरुषहरूको भाग्य जाँच्ने वा भाग्य खुल्ने पर्वका रूपमा पनि यसलाई लिने गरिएको छ । ‘तीर हान्ने ठाउँको खोल (सेन्टर) मा नै तीर लाग्यो भने त्यो पुरुष भाग्यमानी हुन्छ, वर्षभरि नै उसको फलिफाप हुन्छ भन्ने मान्यता छ ।’ गाउँपालिका प्रमुख गुरुङ भन्छन्, ‘यो खेलमा महिलाहरू सहभागी हुँदैनन्, पुरुषहरूले मात्र तीर हान्ने हो ।’ तीर हानेपछि राक्षसहरु ध्वस्त हुने र देवी देवताहरू खुसी हुने भएकोले गाउँमा देवी देवताको नजर रहिरहने विश्वास गरिन्छ । तीर हान्नमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बन्नेलाई केही नगद पुरस्कार प्रदान गरिन्छ भने पर्वमा उपस्थित हुने करिब सबैजसो पुरुषहरूले तीर हान्ने गर्दछन् ।
पर्व सुरु हुँदाको दिनमा गाउँका बालबालिकादेखि बूढाबूढीसम्म सबै जना आफ्नै मौलिक पहिरनमा सजिएर गाउँमा रहेको समाज घरमा जम्मा हुने गर्छन् । महिलाहरूले गीत गाएपछि सुरु हुने पर्व एक हप्तासम्म मनाएर अन्तिम दिनमा पनि महिलाहरूको गीत प्रस्तुत गर्दै गाउँलेहरू एकै ठाउँमा जम्मा भएर विभिन्न परिकारका खानेकुराहरू खाएर गाउँ घुमेपछि समापन हुन्छ ।





