बागलुङ,२५ फागुन – ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बरेङ गाउँपालिकाले पाँच वटै वडाका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने महिलाहरुलाई सम्मान गरेको छ ।
पालिकाले विभिन्न ८ विधामा महिलाहरुलाई सम्मान गरेको हो ।पालिकाले उत्कृष्ट स्वयम सेविकाको तर्फबाट पालिका भित्रका ५ वटै वडाबाट एक–एक जनालाई सम्मान गरेको छ ।
त्यस्तै गत वर्ष भएको एसईई परीक्षामा प्रत्येक वडाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने ५ छात्रालाई पनि सम्मान गरिएको छ ।
सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रत्येक वडाले एक–एक महिलालाई सम्मानित गरेको छ । जेष्ठ महिला, एकल विपन्न महिला, प्रत्येक वडाका एक–एक जना उत्कृष्ट महिला सम्मानित भएका छन् ।
मदिरा नियन्त्रण लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको, टोल सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पालिकाले प्रत्येक वडाबाट एक–एक जना महिलालाई सम्मान गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।उनले सामाजिक कार्यमा थप उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले महिलाहरुलाई सम्मान गरेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले सम्मानले महिलाहरुलाई सामाजिक काम गर्न थप हौसला पुग्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले मानिसहरुमा सामाजिक काम प्रति निराशा बढिरहेको समयमा सम्मानले काम प्रति उर्जा थप्ने विश्वास व्यक्त गरे । वडा न. ४ का अध्यक्ष लिलबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सदस्य अमृत गौतमले गरेका थिए ।





