मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सापकोटाले बाँडे निःशुल्क मास्क : नेपालीले सुलभ दरमा मास्क सिलाउँदै

सापकोटाले बाँडे निःशुल्क मास्क : नेपालीले सुलभ दरमा मास्क सिलाउँदै

कोरोना बिरुद्ध मनकारी यूवा


  • संजय रेग्मी
  • फाल्गुन २६ २०७६, सोमबार

पर्वत,२६ फागुन –  सय भन्दा बढी राष्ट्रमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणका कारण नेपालका बजारहरु पनि सुनसान बन्दै गइरहेका छन् । मानिसहरुको चहलपहल कम भएको छ भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन पनि निकै घटेको छ ।
कोरोना संक्रमणबाट बाँच्नका लागि घरभित्रै बस्नुपर्ने र बाहिर भिडभाडमा जानु परेमा मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । तर बजारमा मास्कको अभाव छ । देशका बिभिन्न स्थानमा सरकारी निकायका प्रतिनिधिहरुले अनुगमन गर्ने क्रममा नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा मास्कको कालोबजारी भएको पाइएको छ । मास्क लुकाउने तथा चर्को मूल्यमा बिक्री गरेर कोरोनाको संक्रमण भएको समयले कमाउने मौकाको रुपमा लिनेहरु भेटीएका छन् । कालोबजारी गर्नेहरु मानवीय संवेदना भन्दा बाहिर छन, उनीहरुलाई न त मानवीयताको ख्याल छ न त धर्मको नै ।
राम्रो कमाई छाडेर कोरोनाबिरुद्ध मास्क बनाउँदै नेपाली
पर्वत सदरमुकाम समेत रहेको कुस्मा नगरपालिका ५ मेलमिलाप चोकमा रहेको सञ्जय ब्याग उद्योगका सञ्चालक सञ्जय नेपालीले एकै दिनमा हजारौँ मूल्यका झोलाहरू बिक्री गर्छन् । झोला उद्योग संचालन गरिरहेका नेपाली पर्वत सहित अन्य जिल्लाहरु कास्की, बागलुङ र म्याग्दीमा पनि झोलाहरु निर्यात गर्दै आएका छन् । सिलाइको सीप भएका केही युवाहरुलाई उनले रोजगारीको अवसर समेत दिएका छन् ।
कोरोनाको सङ्क्रमण बढ्दै गएको र नेपाल पनि जोखिममा रहेको भनी सतर्कता अपनाउँदै गर्दा नेपालीले झोला उत्पादनको काम थाती राखेर मास्क बनाउने काम गरिरहेका छन् । बजारमा विभिन्न पसलहरूमा सहजै रूपमा उपलब्ध हुने तथा मेडिकल र फार्मेसीहरूमा पाइने मास्कहरू पाउन कठिन बन्दै गइरहेको बेलामा हजारौँका झोलाको व्यापार छोडेर उनले कामदारहरूलाई मास्क तयार गर्न लगाइरहेका छन् ।
देशका विभिन्न निजी फार्मेसी तथा सरकारी अस्पतालहरूले नै मास्कमा कालोबजारी गरिरहेको खबरहरू आइरहेको बेलामा नेपालीले भने कपडालाई डबल गरेर बाक्लो खालको इलेस्टीक हालेर मसिनले सिलाएर बनाएको मास्कलाई खुद्रा ३० रुपैयाँका दरमा बिक्री गरिरहेका छन् । जबकि सदरमुकाम कुस्माका फार्मेसीहरूमा पाइने सामान्य खालको मास्कलाई सामान्य अवस्थामा बिस रुपैयाँ तिर्नुपर्छ । ‘मैले यो बेलामा व्यापारलाई भन्दा पनि ज्यानैसम्म लिने भाइरसबाट सबै जना कसरी बाँच्ने ? भन्ने कुरालाई ध्यान दिएको हो ।’ उनले भने, ‘४÷५ वटा झोला बेच्ने हो भने दिनभर सिलाएका मास्कको भन्दा दोब्बर पैसा आउँछ, तर पैसा भन्दा समाज र धर्म ठुलो हो ।’
झोला उत्पादनको कामलाई कम गरेर मास्कहरू मात्र निर्माण गरिरहेका नेपालीले छिमेकी जिल्लाहरू बागलुङ र म्याग्दीबाट पनि अर्डरहरू आउन थालेको बताएका छन् । सञ्जय ब्याग उद्योगले जस्तै बजारमा सिलाई कटाइको काम गर्दै आएका अन्य केही टेलरिङ सपहरुले पनि मास्कको उत्पादन गर्न थालेको बताएका छन् ।
डरको मनोविज्ञान हटाउन निशुल्क मास्क बाँडेका सापकोटा
सदरमुकाम कुस्मा बजारकै साझा चोकमा अनुष्का होजीयारी उद्योगसंगै फेन्सी पसल पनि सञ्चालन गर्दै आएका शङ्कर सापकोटाले पनि मास्कमा कालोबजारी गर्नेहरुका सामु गतिलो उदाहरण पस्किएका छन् । बजारमा मास्क पाउन कठिन बन्दै गइरहेको बेलामा उनले आफ्नो पसलमा बिक्रीका लागि राखिएका मास्कहरू निःशुल्क वितरण गर्ने भनी सामाजिक सञ्जाल फेसबुकमा राखेको भोलिपल्टै सबै मास्कहरू सकिए ।
‘मानवीयता र आशीर्वाद पैसाले किन्न नमिल्ने चीज हुन् । यो बेलामा मास्क लगाउँदै धेरै व्यक्ति सङ्क्रमणबाट सुरक्षित हुन सक्छन् भने मैले २÷४ सय मास्क निःशुल्क उपलब्ध गराउँदा केही हुँदैन् ।’ उनले भने, ‘बजारमा मास्कको अभाव भइरहेको छ, मास्क लगाउन नपाएकाहरू हल्लाकै भरमा झन् धेरै डराएको जस्तो मानेँ । उनीहरूको मनोवैज्ञानिक असर कम गर्न पनि मैले यो काम गरेको हुँ ।’
मन्त्रालयको अनुरोधले बढ्यो त्रास
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत पाँचभित्रमा कक्षा एकदेखि नौसम्मको वार्षिक परीक्षाका कार्यक्रमहरू सकाउन अनुरोध गरेसँगै पर्वतमा भाइरसको सङ्क्रमण घरघरमा छिरेको जस्तै गरी त्रास सिर्जना भइरहेको छ ।
चियागफ गर्नेहरूले चोक–चोकमा बसेर काठमाडौंमा कोरोना सङ्क्रमितहरू धेरै रहेको भए पनि सरकारले त्रास नियन्त्रण गर्न ती कुराहरू लुकाएको र सोही कारण तत्काल नै विद्यालय बन्द गर्न भनेको भन्ने अफवाह फैलाउनेहरूका कारण बजारमा मास्कको अभाव सुरु भएको थियो । सदरमुकामकै बडागाउँमा रहेको बागलुङ मेडिकल हलका ल्याब टेक्नोलोजिस्ट तथा फर्मासिस्ट सन्दिप पौडेलले पसलमा मास्कहरूको सकिएको र थप मगाएको भए पनि नआइपुगेको बताए । बजारमा वास्तविकताभन्दा धेरै हल्ला भएका कारण पनि कोरोनाको कारणले भन्दा त्रास र हल्लाका कारण सामान्य रुघा लागेका व्यक्तिहरू समेत अत्यन्तै हताश मानसिकतामा देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->