बागलुङ,२६ फागुन – बागलुङको काठेखोला गाउँपालिका–२,भीमापोखरामा खरका छाना विस्थापित गर्ने अभियान सुरु भएको छ । वडा कार्यालयले बार्षिक कार्यक्रम नै बनाएर वडाभित्र रहेका गरीब तथा विपन्न परिवारको खरको छानो विस्थापन अभियान चलाएको हो ।
विपन्नताका कारण आफैले जस्ताको छानो लगाउन नसक्ने परिवारहरुलाई वडा कार्यालयमार्फत निःशुल्क जस्तापाता उपलव्ध गराएर खरको छाना विस्थापन गरिने छ । गत बर्ष समेत वडाले यो अभियान चलाएको थियो ।खरको छानो विस्थापन अभियानअन्तर्गत वडा कार्यालयले यसवर्ष १७ परिवारलाई जस्तापाता वितरणको लागि ६ लाख रुपैयाँ बजेट विनियोन गरेको हो । यसवर्षको पहिलो चरणमा १२ परिवारलाई खरको छानो परिवर्तनको लागि रंगिन जस्तापाता बितरण गरेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए । बाँकी पाँच परिवारलाई क्रमश ः जस्ता उपलब्ध गराइनेछ । वडा कार्यालयले अघिल्लोवर्ष २४ वटा घरमा जस्ता बितरण गरेको थियो । वडाभित्र करिब ५५ वटा खरको छानो रहेको र आगमी आर्थिक वर्षभित्रै सबै घरमा जस्तापाताले छाउने योजना रहेको वडाध्यक्ष शर्माको भनाइ छ । यसअघि गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत नै खरको छाना विस्थापन गर्ने नीति लिएको थियो ।
वडाले विनियोजन गरेकको रकमबाट गाउँपालिकाले जस्ता पाता खरिद गरेर उपलब्ध गराइको थियो । भीमापोखराको लागि यसवर्ष ५५ बण्डल जस्ता प्राप्त भएको छ । १३ हात लम्बाई र ९ हात चौडाई भएका घरलाई दश फिटको जस्ता उपलब्ध गराइएको छ ।आर्थिक अबस्था कमजोर भएकाहरुको मात्रै खरका छाना रहेको भन्दै वडा अध्यक्ष शर्माले स्थानीयको मौजुदा घरमा मिल्नेगरि टिनको व्यवस्था गर्न गरेको बताए । वडा कार्यालयले टिनको मात्रै व्यवस्था गर्ने र अन्य आवश्यक सामग्रीहरुको व्यवस्था घरधनीले गर्नुपर्ने छ । खरको छानो हटाएर टिन लगाउन पाउने भएपछि स्थानीयहरु खुसी भएका छन् ।





