आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सबै टोलमा व्यवस्थित सडक बनाउने अभियान

सबै टोलमा व्यवस्थित सडक बनाउने अभियान


  • Dhorpatan News
  • फाल्गुन २८ २०७६, बुधबार

बागलुङ,२८ फागुन – पुरानो बजार भएकोले सडक चौडा पार्ने काम नभएपछि हरिचौर बजार ढलान गरिएको छ । बजारको अधिकांस खण्ड ढलान गरेपछि अहिले हरिचौरको मुख्य बजार आर्कषक देखिएको छ । यसअघि हिलो र धुलोले सताउने बजारमा ढलानपछि आर्कषण बढेको वडा अध्यक्ष नारायणध्वज मल्लले बताए ।
वडा कार्यालयले गत बर्षको ४० लाख खर्चेर बजार क्षेत्रमा ढलान गरेको हो । अझै यहाँको पृथ्वी माबि र वडा कार्यालयतर्फको खण्ड बाँकी छ । उक्त खण्डमा चालु बर्ष ढलान गरिने उनले बताए । हाल बिद्यालयको भवन पनि निर्माणाधिन छ । भवनको कारणले समेत बाटोमा ढुंगामाटो खसेको थियो । अब भने सरसफाई गरेर ढलान गर्न सकिने अबस्थामा पुगिएको मल्लले बताए ।
वडा कार्यालयले ताराखोलातर्फ जानका लागि उपल्लो बजारको सडकलाई मुख्य सडक बनाउने निर्णय गरेको छ । ‘पुरानो र ऐतिहासिक बजार भत्काउनभन्दा उपल्लो बजारबाट सडक लैजादा सहज हुने भयो’ मल्लले भने, ‘अहिले कालोपत्रे सहितको योजना परेको छ, उक्त काम माथिल्लो बजारबाटै हुन्छ ।’ खहरे खोलामा पक्की पुल बनाउने चुनौती समेत छ । तर अस्थायी पुलबाट भएपनि सडक संचालन गर्न उपल्लोबाटो सहज हुने स्थानीयले बताए ।
‘बिद्यालय नजिक भएको र बिस्तार गर्ने ठाउँ पनि थिएन’ हरिचौरस्थित पृथ्वी माबिका प्रअ बद्रीप्रसाद ढकालले भने, ‘साना गाडी हिड्ने बाटो यहाँ पनि छ, लामो दुरीका र ठूलो गाडी हिड्ने सडक मुख्य बजारभन्दा बाहिरबाट जाँदा संरचना जोगाउन सकियो ।’ धेरै बिद्यार्थी भएको र थोरै जमिनमा धेरै भवन बनाएर व्यवस्थापन गर्नु परेकोले सडक बिस्तार गर्दा बिद्यालयमा क्षति हुने संभावना टरेको उनले बताए ।
नगरपालिकाले हाल ईलाका प्रहरी कार्यालय रहेको स्थानमा जग्गा किनेर सडक बिस्तार तथा अन्य संरचना बनाउने तयारी समेत गरेको छ । ‘बजारक्षेत्र संरक्षण गर्ने र संरचना बनाउने काम गर्न खोजेका छौ’ उनले भने, ‘ऐतिहासिक क्षेत्रलाई पहिचान सहितको बिकास गर्न पनि खोजिएको छ ।’ हरिचौरले सरसफाईको अब्बल वडा बनाउन समेत काम गरेको उनले बताए ।
उपल्लो बजारबाट सडक लैंजादा टेउवा जाने सडकका लागि पनि सहज हुने सामाजिक अगुवा पूर्णसिंह रानाले बताए । टेउवामा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला सम्पन्न भएको छ । उक्त स्थानमा जाने सडक हाल कच्ची छ । पक्की सडक निर्माणका लागि पनि यो सडकबाटै जोडिन्छ । हरेक टोलमा सडक लैजाने आवस्यकतालाई पनि यो सडकले जोडेको छ । सिमलबोट तर्फको गाउँलाई जोड्न पनि सहज भएको स्थानीय नरबहादुर थापाले बताए । सडक सफाईका लागि नाली बनाउने, फोहोर संकलनका लागि चोकचोकमा बाल्टिन राख्ने र घरघरमा फोहोर व्यवस्थापनमा समेत लागिएकोले बनेका सबै सडक सफा बन्ने उनले बताए । डोजर लगाएपछि अलपत्र छाडेर पहिरो खस्ने गरी सडक नबन्ने उनले बताए ।
६ नं. वडाले पनि हरिचौरमा मुख्य सडक नलाने योजनामा साथ दिएको छ । वडाले नगरपालिकाको कार्यालय रहेको स्थानबाटै राजाको पुल नतरीकन ताराखोला लैजाने सडक बनाएको हो । नगरपालिका र वडाको गरी झण्डै २० लाख रकम खर्चेपछि सडक पुगेको हो । यो सडकले ताराखोला जाने सवारीलाई हरिचौर बजार नगईकनै सोझै जाने बाटो खुलेको छ । यो सडकले वडा नं. ६ को आन्तरिक सडक बिस्तारमा पनि महत्वपूर्ण योगदान पुगेको वडा अध्यक्ष नरबहादुर खत्रीले बताए ।
गण्डकी प्रदेश सरकारको ४० करोड लगानीमा हटियादेखि ताराखोलासम्म पुग्ने सडकको कालोपत्रे गर्नेगरि काम भैरहेको छ । यो सडक बनिसकेपछि ताराखोलासम्म कालोपत्रे सडकमा पुग्न सकिन्छ । पहिलो चरणमा भने १२ किमी सडक कालोपत्रे हुने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । आगामी बर्ष गाउँपालिका केन्द्रसम्मै कालोपत्रे लैजाने गरी काम गरिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->