बागलुङ,३० फागुन – प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठकले धौलागिरी बहुमुखी क्याम्पस र धौलागिरी अञ्चल अस्पताललाई बागलुङका गर्वगर्न लायक स्थल बनाउनुपर्ने बताएका छन् ।उनले बागलुङको व्यवसायिक र राजनीतिक भविष्यका लागि पनि यी दुवै स्थानको संरक्षण गर्न आवस्यक भएको बताए । डा. पाठक धौलागिरी बहुमुखी क्याम्पसमा उनकै निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ लगानी भएपछि निर्माण थालिएको पुस्तकालय भवन बिहिवार बिहान शिलान्यास गर्दै थिए । उनले उक्त अवसरमा धौलागिरी बहुमुखी क्याम्पसनै आम बिद्यार्थीको रोजाईको स्थान बन्नुपर्ने बताए । ‘यहाँ अब्बल र गुणस्तरीय पढाई हुन्छ, परीक्षाफल राम्रो छ भन्ने देखाउन सकियो भने धेरै बिद्यार्थीको रोजाईमा पर्छ’ उनले भने, ‘त्यसकालागि पूर्वाधार र गुणस्तरीय सेवा दिन सक्नुपर्छ ।’ उनले क्याम्पसलाई सबै प्रकारका प्राविधिक र आधुनिक सेवा दिएर बिद्यार्थी पढाउन क्याम्पस प्रशासनलाई आग्रह पनि गरे ।
उनले धौलागिरी अञ्चल अस्पतालको सेवा गुणस्तरीय बन्दा धेरै बिरामीले उपचार सेवा पाउने र त्यसबाट यहाँ रोजगारी र व्यवसायको आधार बढ्ने समेत बताए । उनले आफ्नो कोषबाट चालु बर्ष क्यामपसलाई ५० लाख लगानी गरेर आधुनिक पुस्तकालयमा खर्च गरेझै अस्पतालमा पनि हाइ केयर युनिट निर्माणमा पनि ५० लाख रुपैयाँ लगाएको बताए । ‘समयमा उपचार नभएकै कारण हामीले पूर्व सभासद गुमाएको तितो यथार्थता ताजा छ, त्यसैले सहयोग गरेका हुँ’ पाठकले भने, ‘आइसियु बनाउन थोरै रकमले नपुग्ने भएपछि पहिलो चरणमा उच्च स्तरीय उपचार केन्द्र बनाउन लगानी गरियो ।’ सुन्दर बागलुङ निर्माणका लागि सबैले समान सहभागिता र गुणस्तरीय काममा लगाव राख्नुपर्ने समेत उनले सुझाव दिए ।
कार्यक्रममा पाठकले अब धौलागिरीको शिक्षाको अवस्था र आगामी कार्यदिशा बारे गम्भिर बहस गर्ने अबस्था आएको पनि बताए । कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जनसहभागिता घटेपछि क्याम्पसलाई अपनत्व लिने क्रम पनि हटेर गएको बताए । उनले पंचायतकालमा श्रमदान र नागरिकहरुको लगानीबाट बनेको र निर्माण भैरहेको क्याम्पस बहुदलपछि सेलाएको उनले बताए । २०६० सालपछि क्याम्पसमा अहिले सम्म नागरिक र राज्यको लगानी भित्राउन नसकिएको उनले गुनासो समेत गरे । ‘लगानी शुन्यताबाट पनि हामीले बिज्ञान संकाय र बिबिए जस्ता बिषय थप गरेका छौं’ उपाध्यायले भने, ‘त्यसबाट हामीले शतप्रतिशत परिणाम र गण्डकी प्रदेशकै उत्कृष्ठ नतिजा हात पार्न सकेका छौं ।’ आधुनिक पुस्तकालय भवन बनेपछि बिद्यार्थीमा पठन शैली फेरिने उनले आस गरे ।
क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक प्रमुख तिलक कंडेलको स्वागत र धु्रबराज गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । १ करोड ४२ लाखको लागतमा पुस्तकालय बन्ने बताइएको छ । यो पुस्तकालय अपांग मैत्री हुनेछ । लागत अनुसारको पुरै काम गरिसक्दा २ करोड लाग्ने भएपनि पहिलो चरणमा उक्त अनुमान गरिएको हो । पाठकले पनि थालेको काम पुरा गरेर छाड्ने अठोट व्यक्त गरेका छन् ।





