आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सार्क राष्ट्रका नेताबीच कोरोनाबारे भिडिओ कन्फरेन्स भोलि

सार्क राष्ट्रका नेताबीच कोरोनाबारे भिडिओ कन्फरेन्स भोलि

प्रधानमन्त्री ओली पनि सहभागी हुने : परराष्ट्र सल्लाहकार राजन भट्टराई


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७६, शनिबार
फाईल तस्वीर ।

काठमाण्डौं, १ चैत – विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले छलफल गर्ने भएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का राष्ट्र/सरकार प्रमुखबीच आइतबार साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको छ।
उक्त भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने  भएका छन्। प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनेछन्। भिडिओ कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावलगायतका विषयमा कुरा गर्नेछन्। ‘के कुरा गर्ने भन्नेबारे हामी छलफल गर्दैछौं,’ भट्टराईले भने।
परराष्ट्र सल्लाहकार भट्टराईले दक्षिण एसियाली मुलुकबीच कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउने भारतको प्रस्ताव सकरात्मक भएको बताए। ‘सार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले हिजो नै उहाँको प्रस्तावको स्वागत गर्नुभएको छ। यसले कुनै मुद्दामा दक्षिण एसियाका मुलुकहरू मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ,’ भट्टराईले भने।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्र अस्पतालबाट निवास फर्किएका हुन्। भट्टराईका अनुसार प्रधानमन्त्री ओलीलाई उक्त भिडिओ कन्फरेन्समा सहभागी हुन चिकित्सकहरूले नै अनुमति दिएका छन्। ‘उहाँलाई भेट्दा अरूले के गर्ने र अरूलाई भेट्दा उहाँले के गर्ने भनेर सबै कुरा चिकित्सकले भनिदिनु भएको छ त्यही प्रोटोकललाई फलो गरेर उहाँ भोलिको कार्यक्रममा सहभागी हुनु हुने हो,’  भट्टराईले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->