बागलुङ, २ चैत – नेपाली काँग्रेस लेखानीको आयोजनामा कादेशमा एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले नेपाली काँग्रेस देशकै पुरानो र जिम्मेवार पार्टी भएकाले त्यही अनुसार देश र जनताको पक्षमा अगाडी बढ्ने बताए । ‘काँग्रेस देश र जनताप्रति जिम्मेवार छ र त्यही ढंगले अगाडी बढिरहेको छ,’ उनले भने,‘देशमा बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनतालाई राहत दिने काम भन्दा भ्रष्टाचारमा लिप्त भएको छ ।’ विगतमा सरकारमा पुगेका छैनौं भनेर जनतलाई भ्रममा पारेर निर्वाचन जितेका कम्युनिष्ट पार्टीले देशलाई ओरालो दिशातर्फ लगेको उनको आरोप छ । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द पहराईले देशमा अब काँग्रेसको विकल्प नभएको बताए । ‘दुई तिहाईको शक्तिशाली सरकारको गतिविधि देखेर जनता आजित भएका छन्,’ उनले भने,‘अब यो देशमा काँग्रेसको विकल्प छैन । आगामी निर्वाचनमा काँग्रेसको जित निश्चीत गर्नका लागि अहिले देखि नै सबैले जनताको पक्षमा काम गर्नुपर्छ ।’ उनले सहभागीले नेपाली कांग्रेस, वर्तमान सरकार र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा साविक लेखानी ७, ८ र ९ वडाका काँग्रेस कार्यकर्ताको सहभागीतातामा मदन श्रीसको सभापतित्वमा टोल समिति समेत गठन गरिएको छ । उपाध्यक्षमा गोपाल पुन, सचिव शेरबहादुर श्रीस, सह—सचिव भोजेन्द्र पुन, कोषाध्यक्षमा लिलामाया पुन चयन भएका छन् ।सल्लाहकारमा क्या. शेरबहादुर श्रीस, गम बहादुर श्रीस, सन्तबहादुर श्रीस, चन्द्रकुमार पुन, कुलबहादुर श्रीस, मनबहादुर पुन र रामबहादुर पुन रहेका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति अध्यक्ष खडक बहादुर थापा, नेपाली काँग्रेस क्षेत्रीय सदस्य परमानन्द कँडेल, तुलसा श्रीस लगायतले बोलेका थिए। कार्यक्रम कार्यबाहक सभापति मोम रोकाको अध्यक्षता, मदन श्रीसको स्वागत र सचिव चन्द्र कुमार पुनको संचालनमा सम्पन्न भएको थियो।





