बागलुङ, २ चैत – जमिनमुनी पड्कीएको बमका कारण घरहरु चर्किने र बच्चाहरु तर्सिने गरेपछि अध्ययनको कामनै रोकेका बागलुङ नगरपालिका–९ तित्याङका स्थानीय र अध्ययन गरिरहेको कम्पनीबीच सहमति जुटेको छ । तामा लगायतका धातुको अनुसन्धानको काम गरिरहेको कम्पनी शुभम् गु्रप र प्रभावित क्षेत्रका स्थानीयबीच सहमति जुटेपछि काम सूचारु भएको छ ।
गत शनिबारदेखि रोकीएको काम शुक्रबारदेखिनै सुरु भएको हो । प्रभावित क्षेत्रमा रहेका स्थानीयको भौतिक सम्पत्ति तथा जीवन बिमाको व्यवस्था, बम बिस्पोर्ट गर्ने समयमा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने, दिनमा दुई पटक निर्धारित समयमा मात्रै बम बिस्फोट गर्न पाउने लगायतका बुँदामा सहमति जुटेपछि अध्ययनका लागि भैरहेको सुरुङ खन्ने कामले निरन्तरता पाएको हो । स्थानीय र कम्पनीबीच विवाद हुँदा शनिबारदेखि काम अवरुद्ध भएको थियोे ।
खानीमा अध्ययनको लागि कम्पनीले बम बिस्फोट गरेपछि स्थानीयले काम अवरुद्ध गराएका थिए । सुरुवातमा ड्रिलिङ मेसिनले सुरुङ खन्ने बताएपनि पछिल्लो समय बमनै बिस्फोट हुन थालेको भन्दै कामनै अवरुद्ध पारेको सरोकार समितिका सदस्य शिवलाल बिकले बताए । बिकले भने ‘जनधनको सुरक्षाको व्यवस्था हुने भएपछि काम सुचारु भएको छ ।’ खानीमा बम बिस्फोट गर्दा पुरै गाउँको सुरक्षा नहुने भएकाले पहिले बस्तीको व्यवस्थापन गरिदिनुपर्ने माग राख्दै स्थानीय अबरोध गरेका थिए ।
‘सर्वसाधारणका माग जायज थिए हामीले सम्बोधन गरेका छौं’ खानीको प्रारम्भिक अध्ययन गरिरहेको शुभम गु्रप नेपालका अध्यक्ष श्याम अधिकारीले भने ‘मिलेर काम गर्ने हो, सबैको समस्याको समाधान भएपछि हामीले रोकीएको काम थाल्यौं ।’ जोम्बीङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा शुभम ग्रुपले ४ महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । ग्रुपले सुरुवातमा ड्रिलिङ मेसिनले खन्ने निर्णय भएपनि बीचमा साह्रो ढुंगा परेको कारण रक्षा मन्त्रालय र खानी विभागसँग स्विकृती लिएर नेपाली सेनाको निगरानीमा बम बिस्पोट गरेर सुरुङ निर्माण गर्ने काम भैरहेको अधिकारीले बताए ।
बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका वडा अध्यक्ष गणेश थापाले स्थानीय र कम्पनीसँग छलफल गरि समस्याको समाधान गर्न जिल्ला सुरक्षा समिति लगायत सरोकारवाला लागेकाले अब काम नरोकिने बताए । थापाले सिंगो बस्तीका बासिन्दाहरु नभइ १, २ जनाको कारण खानी अध्ययनमा समस्या भइरहेको पाइएकोले त्यसको समाधानको लागि स्थानीय तहले समन्वय गरेको बताए ।





