बागलुङ,२ चैत – स्थानीयले जग्गा दिएपछि गलकोट नगरपालिका वडा नं. ४ को वडा कार्यालय भवन निर्माण थालिएको छ । वडा नं. ४ नुवाकोट निवासी खिमबहादुर न्यौपाने, खरुवा निवासी भक्त सुवेदी र गोबिन्द सुवेदीले जग्गा दिएपछि वडा कार्यालय भवन बनाउने बाटो खुलेको हो ।
शनिबार नगरप्रमुख भरत शर्मा गैरेले भवन शिलान्यास गरे । उनले भवन शिलान्यास गर्दै नगरको बिकास र समृद्धिको लागि पूर्वाधार निर्माणका आधारहरु बन्दै गएको बताए । उनले जग्गादाताको कारण भवन बनाउन सकिएको भन्दै दातालाई धन्यवाद पनि दिए ।
चालुबर्षको २५ लाख रुपैयाँको लागतमा भवन बन्न लागेको हो । स्टिमेटअनुसार उक्त भवन चारकोठाको हुने वडा अध्यक्ष बलबहादुर खत्रीले बताए । उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर खत्रीको अगुवाईमा यो भवन बनाउन लागिएको हो । सबै मिलेर काम गर्दा समयमै भवन बनाउन सकिने समेत खत्रीले बताए ।
आगामी जेठ १५ गतेभित्रै काम सक्ने लक्ष समेत राखिएको छ । कार्यक्रममा अनुगमन समितिका संयोजक डोलराज पौडेल, निर्माण सेवाका संचालक योगेश भण्डारी, वडा अध्यक्ष खत्री, लगायतले बोलेका थिए । वडा अध्यक्ष खत्रीको अध्यक्षता, उपभोक्ता समितिका सचिव खिमलाल सुवेदीको स्वागत र वडा सचिव हेमबहादुर अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





