मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

७ हजार रुपैयाँमै एपेन्डीसाईटीसको शल्यक्रिया

७ हजार रुपैयाँमै एपेन्डीसाईटीसको शल्यक्रिया


  • संजय रेग्मी
  • चैत्र २ २०७६, आइतबार

पर्वत,२ चैत – शुक्रबार पर्वतकी एक २० बर्षिया युवतीमा एमेन्डीसाइटीसको समस्या देखियो । उनमा इन्फेक्सन भइसकेको थियो, एपेन्डीसाईटसीमा पिप भरिएको थियो, केही समयपछि त्यो फुट्ने अवस्थामा पुग्नै लागेको थियो । हतार–हतार पर्वत अस्पतालमा भर्ना गरिएकी उनलाई चिकित्सकहरुले यहीँ नै शल्यक्रिया गर्नु उत्तम हुने बताए । ती यूवतीको परिवारले पर्वतमा एपेन्डीसाईटीसको शल्यक्रिया हुन्छ भन्ने थाहा पाएका थिएनन्, पाउन पनि कसरी ? अहिलेसम्म जिल्लामा यस्तो खालको शल्यक्रिया नै भएको छैन् ।
ती युवतीको अवस्था जोखिममा रहेका कारण चिकित्सकहरुले बिरामीका आफन्तहरुलाई सम्झाए, आपूmहरुले अन्य जिल्लाका बिभिन्न अस्पतालहरुमा रहँदा गरेका शल्यक्रियाका अनुभवहरु सुनाए, अन्ततः बिरामीका आफन्तहरु छोरीको शल्यक्रिया पर्वत अस्पतालमा नै गराउने निर्णयमा पुगे । शल्यक्रिया सफल पनि भयो ।
यो सफलतासँगै झन्डै ४० हजार रुपैयाँभन्दा बढीको लगानीमा पोखरा पुगेर एपीन्डीसाइटीसको शल्यक्रिया गराउँदै आएका पर्वतका बिरामीहरुले अब जिल्लाभित्रै सस्तो दरमा उपचार पाउने भएका छन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले निकै सहज तरिकाले डा. विष्णु भण्डारी नेतृत्वको चिकित्सकीय टोलीले पर्वतमा नै पहिलोपटक क्रोनिक एमीन्डीसाइटीसको शल्यक्रिया गरिएको बताए ।
‘बिरामीमा इन्फेक्सन सुरु भएर पिप जम्मा भइसकेको थियो, छिट्टै प्वाल पर्ने अवस्था थियो । उपचारको लागि पोखरा लैजाने प्रयास गरेको भए झन्डै साढे २ घण्टा लामो बाटोमा जे पनि हुन सक्थ्यो ।’ उनले भने, ‘पर्वतमा यस्तो शल्यक्रिया पहिलो हो तर डक्टर त पहिलो होइन नि, डा. विष्णुले यस्ता शल्यक्रिया धेरै गरिसक्नुभएको छ । हामी अन्य ठाउँमा रहँदा सफल शल्यक्रियाहरू गरिरहेका थियौँ ।’ शल्यक्रियामा डा. विष्णु भण्डारीको नेतृत्वमा डा. शिशिर देवकोटा, डा. सागर बराल, डा. सन्तोषी थपलिया, डा.सतिश बास्तोला, डा. सुरज नेपाली लगायतको टोली खटेको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सात हजार रुपैयाँमा नै एपेन्डीसाइटीसको शल्यक्रिया गर्ने भनेर रेट तोकिसकिएका कारण बिरामीहरूले ठुला सहरमा गएर उपचार खोज्दा तिर्नुपर्ने महँगो रकम तिर्नु नपर्ने बताए । ‘यही कुस्माकै मान्छेलाई एपेन्डीसाइटीस भयो भने पोखरा पुगेर सबै काम सक्दा झन्डै ५० हजार जति खर्च निजी अस्पतालमा आउँछ ।’ उनले भने, ‘ढाई घण्टा टाढाको पोखरा सहरमा त्यति महँगो उपचार छ तर पर्वत अस्पतालमा ७ हजार रुपैयाँमा बिरामी उम्कन्छ । शल्यक्रिया जहाँ गरे पनि एकै हो ।’
शल्यक्रियामा संलग्न डा. विष्णु भण्डारीले पर्वतमा एपेन्डीसाइटीसको शल्यक्रिया सहजै रूपमा गर्न सकिने अवस्था रहेकोले यस क्षेत्रका बिरामीहरूलाई अन्यत्र लैजानु नपर्ने बताउँछन् । लामो सडक यात्राबाट शल्यक्रियाका लागि पोखरा पठाउँदा एपेन्डीसाईटीस फुलेर फुट्न सक्ने र त्यसबाट बिरामीको ज्यानै जान सक्ने भएकाले त्यो जोखिम मोल्नुभन्दा पर्वत अस्पतालमा नै सुरक्षित शल्यक्रिया गराउनु उत्तम हुने उनको भनाई छ ।
मेसु डा. देवकोटाले एपेन्डीसाइटीसको शल्यक्रिया पर्वतमा यस अगाडि नभएका कारण पनि सुरु सुरुमा बिरामी र बिरामीका आफन्तहरूले आफूहरूलाई विश्वास नगर्न सक्ने बताउँछन् । ‘ती युवतीको शल्यक्रियाको विषयमा पनि हामीले धेरै बेर कन्भीन्स गर्नुपरेको थियो । पोखरा पठाउँदा बाटैमा जे पनि हुने अवस्था थियो । यहीँ गरिएको शल्यक्रियाले प्राण बच्यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->