काठमाडौं,२ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेल कोरोना भाइरसविरुद्ध लड्न महत्त्वपूर्ण र सामयिक निर्णय लिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
विश्व नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ ले आक्रान्त भइरहेका बेला दक्षिण एसिया सहयोग संगठन (सार्क) नेताहरुले यसविरुद्धको साझा रणनीति बनाउन गरिएको भिडियो सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारले कोरोनाविरुद्ध लड्न विशेष सजगता अपनाएको बताए ।
नेपालमा संघ, प्रदेश र स्थानीय सरकारले कोरोनाको रोकथामका लागि पूर्वसावधानी अपनाएका ओलीले जानकारी दिए ।
उनले कोरोना भाइरसको उच्च जोखिमबारे सचेत रहेको समेत बताए । विभिन्न संघसंस्था र सम्बन्धित निकायको सहकार्यमा विभिन्न रणनीतिहरु अपनाएका उनले बताएका थिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको, अन-अराइभल भिसामा रोक लगाइएको, सेल्फ क्वारेन्टाइनमा बस्न नागरिकलाई आग्रह गरिएको, तेस्रो मुलुकबाट आउने नागरिकलाई जमिनको बाटो प्रयोग रोक लगाइएकोलगायतका सरकारले कोरोना विरुद्ध चालेका कदमहरुको जानकारी गराएका छन् ।
उनले कोरोनाको संक्रमणमा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै अस्पताल र चिकित्सकको क्षमता बढाइएकोसमेत प्रधानमन्त्री ओलीले बताए ।
अस्वस्थताका बाबजुद भिडियो सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीसहित अन्य प्रतिनिधिहरुलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेकोमा धन्यवाद दिएका थिए ।





