आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चैतको हिमपातले मनै लोभ्यायो

चैतको हिमपातले मनै लोभ्यायो


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७६, सोमबार

बागलुङ,३ चैत – होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारी शनिबार पहिलोपटक गाजाको दह घुम्न पुगे । उनलाई पहिलोपटक गाजा पुग्दा पर्यटकीय क्षेत्रले लोभ्यायो । ६ जना साथी मिलेर गएका उनीहरु शनिबार गाजामै बिताउने योजना बनाए । शनिबार राती नपत्याउने गरी हिमपात भयो । गाजा दह, आसपासका पहाड सेताम्मे भए ।
यो उनको जीवनकै महत्वपूर्ण र अबिष्मरणीय घटना भयो । ‘यस्तो सोचैकै थिएनौं, पहिलोपटक देख्न पाएको गाजा दहमा हिमपात भएको पनि देख्न पाएँ’ राजभण्डारीले भने, ‘बागलुङ आएका पाहुना पठाउने धेरै गन्तव्य रहेछन् ।’ उनलाई धेरैले टेलिफोन गरेर बधाई पनि दिए । चैतमा हिउँ खेल्न पाएकोले बधाईलाई राम्रो मानेको उनले बताए । होटल संघको अध्यक्ष भएकोले बागलुङ आएका पर्यटकलाई मुक्तिनाथ पठाउने बिषय मात्र उनको प्राथमिकतामा पथ्र्यो । आफ्नै जिल्लाभित्र आर्कषक गन्तव्यहरु रहेछन् भन्ने उनले महसुस गरेको बताए ।
भकुण्डे र होमस्टेमा पठाउने क्रम भने उनले दुईतीन बर्षअघिदेखि थालेका थिए । बिदेशी पाहुनालाई उनले भकुण्डे पठाएरै छाड्थे । अब भने अर्को गन्तव्य थपिएको उनले बताए । गाजाको दह जाने सडक भने अप्ठ्यारो छ । गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको लगानीमा सिंगाना सम्मको सडक मर्मत गरिएको छ । गाजाको दहहुँदै बरेङ र गुल्मीको शान्तिपुर जाने यो सडकमा छिटै लगानी थप्नुपर्ने भ्रमणका सहभागि बिष्णु क्षेत्रीले बताए ।
‘लगानी थपेर कालोपत्रे सडक बनाउन सकियो भने बजारबासी मात्र नभई अन्य जिल्लाबाट घुम्न आउनेलाई पनि राम्रो गन्तव्य बन्नेछ’ उनले भने, ‘भएका संरचनाहरुको उपयोग गर्ने र आर्कषण थप्दा पर्यटक बढाउन सकिन्छ ।’ कोरोना भाइरसका कारण भ्रमण बर्षका कार्यक्रम स्थगित भएपनि छिट्टै समाधान भएर अभियान चल्ने उनले बताए ।


शनिबारै गलकोटस्थित घुम्टेको पहाडमा पनि हिमपात पाएको छ । सेताम्मे हिमपातले घुम्टेमा आर्कषण थपेको छ । राताम्मे लालीगुराँस फुलिरहेको बेला सेताम्मे हिउँले थप आर्कषण ल्याएको घुम्टे युवा समाजका अध्यक्ष थम्मन थापाले बताए । केही समयअघि टेउवामा भएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाले १० बिदेशी र नेपालको विभिन्न स्थानका कलाकार तथा अन्य पर्यटकलाई पनि घुम्टेबारे जानकारी पुगेको छ । भारतका कलाकारले घुम्टे पहाडलाईनै संजिवनी बुटी पाईने पहाडको रुपमा चित्रण समेत गरेका छन् । फोटो पत्रकार संगम घर्तीमगरले लालीगुराँस फुल्ले मौषममा सेताम्मे देख्न पाएको भन्दै सामाजिक संजालमा पोष्ट समेत गरेका छन् ।
शनिबारै ढोरपाटन, ताराखोला, पंचकोट देखि संसारकोट, धम्जाको बेलढुंगामा पनि भारी हिमपात भएको छ । गर्मी बढेपछि पनि हिमपात भएकोले धेरैले आइतबार बिहानै घुम्ने योजना समेत बनाएका थिए । चैतमा हिमपात भएकोले किसानको खेतीबालीमा खासै असर परेको छैन । बरु बिहानै घाम लागेकोले धेरैलाई घुम्ने अबसर दिएको थियो । बिहानै हिमपात देखेपछि अन्य साथीलाई पनि घुम्न बोलाएको राजभण्डारीले बताए ।
यो बर्ष पश्चिमी बायुको प्रभावले धेरै स्थानमा मंसिर देखिनै हिमपात भैरहेको थियो । एकसाता देखि १५ दिन भित्रमा परेको हिमपातले खेतीपाती राम्रो भएको, मौषम सफा भएको, बाँझो खेत जोत्न सजिलो भएको जस्ता फाइदा पुगेको किसानले बताए । हिमपात सँगै हाबाहुरी आएकोले पाक्नै लागेको गहुँ र जौं भने ढलेको बोबाङका यामबहादुर कायतले बताए । ताराखोला र ढोरपाटनमा भने आलु लगाउन ढीलाई भएको किसानले गुनासो गरे । चैत लाग्दा पनि हिमपात भएपछि चिसोले आलु उम्रन सक्दैन । यहाँ हिउँदमा लगाएर असार साउनमा मात्रै आलु खन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->