आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङमा ‘एक घर एक महिला रोजगार’ कार्यक्रम

बरेङमा ‘एक घर एक महिला रोजगार’ कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७६, सोमबार

बागलुङ,३ चैत – महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले जिल्लाको बरेङ गाउँपालिकाले ‘एक घर एक महिला रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन बृद्धि र आत्मानिर्भर बनाउनका लागि कार्यक्रम लागु गरिएको हो ।
सामान्य खर्चका लागि समेत पुरुषको भर पर्नुपर्ने महिलाहरुलाई आफ्नो खर्च आँफै जुटाउन समक्ष बनाउन अभियान थालिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । उद्यम गरेर रोजगारीसँग जोडिन चाहने महिलाका लागि गाउँपालिकाले ऋणमा व्याज अनुदान दिने घोषणा गरेको छ । ‘गाउँपालिकाभित्रका कुनैपनि बित्तिय संस्थाबाट पाँच लाखसम्म ऋण लिँदा त्यसको व्याज गाउँपालिकाले तिर्नेगरी कार्यक्रम ल्याएका हौं’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने ‘यो समुह वा संस्था होईन महिलानै अग्रसर हुनेगरी तयार पारिएको कार्यक्रम हो ।’
बैंक तथा बित्तिय संस्थाले ऋण पत्याउनेगरी कार्ययोजना भने महिलाहरु आँफैले बनाउनुपर्नेछ । ‘बैंकले ऋण प्रवाह गर्ने पक्का भएपछि हामीले व्याजको ग्यारेण्टी गर्छौं’ थापाले भने ‘झण्झटबिना उद्यममा लाग्न आग्रह गरिएको छ ।’ गाउँपालिकाले कृषि, काष्ट, सिलाईकटाई वा अन्य जुनसुकै उत्पादनका लागि महिलाहरुले ऋण लिन सक्नेछन् । ‘उद्यम गर्न समस्या हुने भनेको लगानीले हो’ अध्यक्ष शर्माले भने ‘लगानी जुटाउने वातावरण बनेपछि दिदीबहिनीहरु उद्यममा आँफै लाग्नुहुन्छ ।’ उनीहरुले उत्पादन गरेका बस्तु तथा सेवाको बिक्रीले महिलालाई आत्मनिर्भर र गाउँपालिकालाई समृद्ध बनाउने उनले बताए ।
महिलाहरुले उत्पादन गर्ने कृषिजन्य सामग्रीहरुको बजारीकरणका लागि समेत गाउँपालिकाले पहल गर्ने जनाएको छ । धेरै उत्पादन र भण्डारण गरेर बिक्री गर्न सकिने खालका कृषि उपज संकलनका लागि संकलन केन्द्र बनाउन बजेटको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । ‘यसै आर्थिक बर्षमा दुईवटा संकलन केन्द्र बन्छन्, त्यसको लागि दश लाख रुपैयाँको व्यवस्थापन गरेका छौं’ अध्यक्ष शर्माले भने ।
लगानी गर्ने स्रोतको अभावका कारण समस्या झेल्दै आएका बरेङका महिलाहरु गाउँपालिकाको निर्णयले उत्साहित छन् । ब्याज तिर्न नपरेपछि बैंकबाट लिएको ऋणले नाफामुलक व्यवसाय गर्न सकिने उनीहरुको भनाई छ । ‘ऋणको व्याजले अँठ्याउँदा लगानी उठाउनै गाह्रो हुन्थ्यो’ स्थानीय बिमला शर्माले भनिन् ‘व्याजबिना साँवा त तिर्न सकिहाल्छौं नि ।’ गाउँपालिकाले पनि ब्याजकै कारण महिलाहरु उद्यामसँग जोडिन लगानी नगरेको भन्दै व्याज तिर्ने कार्यक्रम बनाएको हो । महिलाहरुले ऋणका लागि बैंकले बनाएका केही सर्तहरु भने पूरा गर्नुपर्ने हुन्छ । ऋणको लागि छनोट गर्ने अधिकार बैङ्क तथा बित्तिय संस्थालाई हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->