बागलुङ,४ चैत – जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्रि गर्दै आएको खुलेको छ ।
घरेलु तथा सानाउद्योग कार्यालय बागलुङ सहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिबाङ सिटि क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्रि वितरण गरिरहेको भेटाएको हो । क्लिनिकमा भएका दश किसिमका औषधिहरु सबैको म्याद गुज्रिएको फेला पारेको कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिईन् । जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका संघ संस्थाका प्रतिनिधि सम्मेलित अनुगमन समितिले उक्त क्लिनिकका औषधिको म्याद सकिएको भेटाएको थियो ।
म्याद गुज्रेका सबैखाले औषधि नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा बुझाईएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । उक्त क्लिनिकलाई कारवाही गर्न उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा समेत कारबाहीमाकोलागि सिफारिस गर्ने श्रेष्ठले बताए । क्लिनिक संचालकलाई प्रशासनले ७ दिन भित्र उपस्थित हुन निर्देशन दिएको छ ।
जिल्ला सदरमुकामबाट अनुगमन निस्केको टोलीले काठेखोला गाउँपालिकाको भ्युटावर आसपासको बजार, गलकोट नगरपालिकाको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांस पेय पदार्थहरुमा धेरै म्याद गुज्रिएका पाईएको श्रेष्ठले बताए । खाद्य सामग्रीहरुमा समेत लेवलिङ नगरेको, म्याद गुज्रिएको पाईएको थियो । उपभोक्ता हित विपरित कारोवार गर्ने सबै व्यवसायीलाई आवश्यक चेतावनी दिईएको कार्यालय प्रमुख शर्माले बताईन् । टोलिले भेटेका सबै सामग्री नष्ट गरेको थियो ।
कोरोनाका कारण कालोबजारी हुन सक्ने र अनाधिकृत रुपमा सञ्चालनमा रहेका व्यवसायीलाई कानूनी दायरामा ल्याउनकालागि भन्दै जिल्लाको पश्चिम क्षेत्रका बजारमा अनुगमन गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यलय बागलुङकी प्रमुख गुमादेवि शर्मा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार पौडेल, जिल्ला प्रशासन कार्यलय बागलुङका नायव सुब्बा तेजराज गौतम, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, यातायात व्यवस्था कार्यालयका लेखा अधिकृत देबप्रसाद शर्मा, स्थानीय तहका प्रतिनिधि, प्रहरी लगायतको टोलीले बजार अनुमगन गरेको थियो ।
कोरोना भाइरसबाट समस्या आउन थालेपछि भारत र चीनबाट सामाग्रीहरु आउन छाडेको भन्ने भ्रम फैलिएपछि कालोबजारी बढेको टिप्पणी समेत भैरहेको छ । टोलीले केही दिन अघि बागलुङ बजारका मेडिकल पसलमा पनि अनुगमन गरेको थियो । मेडिकलहरुले महंगो मूल्यमा मास्क बेचेको आरोप लागेपछि गरिएको अनुगमनको क्रममा उनीहरुलाई चेतावनी समेत दिइएको थियो । उक्त अनुगमनपछि भने सदरमुकामका अधिकांस पसलमा मास्क पाइन छाडेको छ । ‘हामीले खरिद गर्दा महंगो पर्छ, बिल दिंदैन’ एक व्यपारीले भने, ‘केही नाफा राखेर बेच्दा कालोबजारीमा परिन्छ ।’ कालोबजारी गरेमा दुइलाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने कानूनी प्रावधान छ । केही व्यपारीले दैनिक उपभोग्य सामाग्रीको मूल्य बढाउने, भएपनि नभएको भन्दै फर्काउने काम समेत थालेको गुनासो आउन थालेको छ ।





