आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘एक्कासी, बम पड्किन्छ, भूकम्प नै आयो कि भनेर भागाभाग गर्नुपर्छ’

‘एक्कासी, बम पड्किन्छ, भूकम्प नै आयो कि भनेर भागाभाग गर्नुपर्छ’


  • श्याम राना मगर
  • चैत्र ५ २०७६, बुधबार

पोखरा,५ चैत – पोखरा–१४,हवेलीमार्गकी मिनु कँडेल मंगलबार हताश देखिन्थिन् । कहिले घर हेर्दै त कहिले एअरपोर्ट हेर्दै मिनु आत्तिइरहेकी थिइन् ।
मिनुसँगै अरु पनि महिलाहरु हताश देखिन्थे । ‘११ बजे पड्काउँने रे,’ भीड आत्तिइरहेको थियो । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काँडेतार नजिकै झुम्मिएर महिलाहरु कोकोहलो गर्दै थिए ।
कारण, विमानस्थल आयोजनाले जमिन सम्याउन गरिएको बम विस्फोट । विमानस्थलको पश्चिमी भागको जमिन सम्याउन डोजर प्रयोग गर्दा पनि सम्भव नभएपछि बम विस्फोट गराउँदै आइएको छ । राष्ट्रिय गौरवका अरु आयोजनाभन्दा द्रूतगतिमा निर्माण कार्य अघिबढिरहेको विमानस्थलले लक्ष्यभन्दा ६ महिनाअघि नै निर्माण कार्य सकेर उडान भर्ने लक्ष राखेको छ ।सक्दो चाँडो काम सक्न विमानस्थल आयोजनाले त्यसै अनुसारको मेसिनहरु प्रयोग गर्दै आएको छ ।
केही समययता कार्यस्थलमा लगातार बम विस्फोट पनि गराइएको छ । विमानस्थल आयोजनाले जिल्ला प्रशासन कार्यालय कास्की र विमानस्थल निर्माण भइरहेको वडा, पोखरा महानगरपालिका वडा नम्बर १४ बाट अनुमति लिएर बम विस्फोट गराएको बताएको छ ।
विमानस्थल आयोजनाले यसरी बम विस्फोट गराउँदा आफूहरुले सास्ती भोग्नु परेकोे वडा नम्बर १४ का स्थानीयहरुले गुनासो गरेका छन् । वडा नम्बर १४ हवेलीमार्ग र मान्द्रेढुंगाबासी स्थानीयका अनुसार विमानस्थल आयोजनाले बम विस्फोट गराउँदा १ सय ५० बढीको हाराहारीमा घर चर्किएका छन् ।प्रत्यक्ष रुपमा १ सय ५० बढी घरधुरी मर्कामा परे पनि अप्रत्यक्ष रुपमा ५ सय बढी घरधुरी गराउँदा मर्कामा पर्ने गरेको उनीहरुको गुनासो छ ।
पोखरा महानगरपालिका वडा नम्बर–१४ हवेलीमार्गकी हीरा थापा विमानस्थल आयोजनाले यसरी बम विस्फोट गराउनुको सट्टा डोजर लगाएर काम गरे आफूहरुले राहत मिल्ने बताउँछिन् । ‘बम पड्काउन रोक्नुस् बरु डोजर लगाइदिनुस्,’ उनले भनिन्, ‘घरमा बालबच्चा बूढाबूढीहरु हुन्छन् । बम पड्केर घरै हल्लिँदा यता जाने कि उता जाने हुन्छ । यसरी डराएर कसरी बाँच्नु ?’
बम विस्फोट हुँदा जमिन थर्किन्छ । यसको कम्पन सोझै घरसम्म पुग्छ नै । जमिन थर्किँदा भूकम्प आयो भनेर आफूहरु तर्सिने गरेको हवेलीमार्ग निवासी कमला थापाले गुनासो पोखिन् । ‘बम पड्किन्छ, एकैचोटि पड्किँदा लौ, भूकम्पै आयो भनेर तर्सिन्छाँैं,’ उनले भनिन् ।
अर्की विमानस्थल पीडित मान्द्रेढुंगाकी लक्ष्मी बस्नेतका अनुसार विमानस्थल आयोजनाले बम विस्फोट गराउँदा नयाँ बनाउदै गरेका घर पनि चर्किने गरेको छ । ‘कति गाह्रो भएको छ, भएको छ’,उनले भनिन्, ‘यहाँ वरिपरी १ सय ५० जति घर होलान् । पुराना त चर्के÷चर्के नयाँ बनाउँदै गरेका घर पनि चर्किएका छन् ।’
मान्द्रेढुंगाकी अर्कि विमानस्थल पीडित बिनु गुरुङले आफूहरुमाथि सरकारले अन्याय गरेको बताउँछिन् । ‘सबन्धित व्यक्तिले कान खोलेर सुन’, आक्रोश पोख्दै उनले भनिन्, ‘जनतालाई यसरी दुःख दिएर के पाउनुहुन्छ ? साह्रै अन्याय भयो । भूकम्पलेभन्दा बढी बम पड्केर घर चर्किएका छन् ।’
मान्दे्रढुंगा टोल विकास समितिको निर्वतमान अध्यक्ष मोहनराज गिरी बम बिस्फोट गराउन पाइँदैन भनेर आफूहरुले दबाब दिँदै आएको बताउँछन् । तर, विमानस्थल आयोजना भने रोक्ने पक्षमा छैन । ‘हामीले त पड्काउन पाइँदैन नै भनेका छौँ’, उनले भने, ‘तर, विमानस्थल आयोजना भने ल–ल केही गरौँला भनेर आश्वासन मात्रै दिन्छ ।’
उनीहरुले आफ्नो कुरा नसुनिए अदालतसम्म पुग्ने चेतावनी पनि दिएका छन् । गएको जेठ देखि विस्फोट गराउँदै आए पनि बीचमा केही समय स्थानीयको विरोधका कारण रोकिएको उनले सुनाए । जिल्ला प्रशासन कार्यालयमा डेलिकेसन दिन जाँदा सकभर निरुत्साहित गर्ने आश्वासन दिएको उनले बताए ।
सिडिओ कार्यालयमा पुगेर उजुरी दिँदा आयोजनाको कार्यालयमा रिपोर्ट दिन लगाएको उनले सुनाए । ‘सकेसम्म निरुत्साहित गर्न लगाउँछौं भनेर भन्नु भएको छ,’ उनले भने, ‘विमानस्थल आयोजनामा आउँदा चिनियाँहरु एकोहोरो हुन्छन् हाम्रो कुरा त्यति सुन्दैनन् भन्नु भएको छ ।’
विमानस्थल आयोजनाले विस्फोट गराएको बमबाट विद्यालयमा विद्यार्थीहरु पनि डराई डराई पढ्न जाने गरेको स्थानीय बताउँछन् । मान्द्रेढुंगा र हवेली मार्ग बिचको गुड सेफर्ड बोर्डिङ स्कूलमा बम पड्काउँदा विद्यार्थीहरु भयभित हुने गरेको स्थानीयको भनाई छ । काम सक्न जति समय लागे पनि डोजर नै लगाउन स्थानीयले आग्रह गरेका छन् ।
क्षति होइन सानोतिनो क्र्याक हो ः विमानस्थल आयोजना
यता निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख बिनेश मुनाकर्मी भने केही पनि क्षति नभएको दाबी गर्छन् । क्षति भए आफूहरुले क्षतिपुर्ति पनि दिने उनको भनाई छ । ‘प्लास्टर गरेको उप्किएको मात्र हो, क्षति होइन,’ उनले भने, ‘डेलिकेसन दिन आउँदा यस्तो क्षति भयो भनेर भन्नु भएको थियो । पहिलाको प्लास्टर उप्किएको मात्र देखाउनु पनि भयो । बालुवा, सिमेन्ट राम्रोसँग नघुले प्लास्छटर उप्किहाल्छ ।’ केही भइहाल्यो भने त्यसको क्षतिपूर्ति दिन्छौँ ।’ विस्फोट गराउँदा एक÷दुई सेकेन्ड हल्लिए पनि लामो समयसम्म नहल्लिने उनको भनाई छ । लामो समयसम्म हल्लिए क्षति हुने उनले बताए । डोजर लगाएर काम गर्दा कडा माटो परेको हुनाले पनि बम बिस्फोट गराउनु परेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->