मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वत कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पर्वत कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


  • संजय रेग्मी
  • चैत्र ५ २०७६, बुधबार

पर्वत,५ चैत – उपलब्ध भवन, स्रोत र साधनको तुलनामा कैदीबन्दीहरुको संख्या धेरै भएपछि जिल्ला कारागार पर्वतमा राखिएका कैदीबन्दहरुलाई अप्ठ्यारो भएको छ । २५ जनाससम्म राख्न सकिने कारागारमा अहिले ८१ जना पुरुष र ८ जना महिला गरी ८९ जना खाँदिएर बस्नुपरेको छ ।
क्षमताभन्दा बढी राखिएका कारण शौचालय प्रयोग गर्ने समयमा लाईनमा बस्नुपर्ने बाध्यता भएको छ भने अन्य दैनिकी संचालन गर्न पनि कैदीबन्दीहरुले केही अप्ठ्यारो महसुस गरेको निमित्त जेलर हरिकृष्ण शर्माले बताए । क्षमताभन्दा बढी कैदी बन्दीलाई खाँदेर राख्नुपर्दा सबैभन्दा बढी समस्या बस्न, सुत्न, शौचालयको प्रयोग गर्न र धाराको पानी प्रयोग गर्न भएको उनको भनाई छ ।
‘२५ जना राख्न सक्ने क्षमता रहेको कारागारमा क्षमता भन्दा ३ गुणा बढी कैदी र थुनुवालाई राख्नुपरेको छ ।’ शर्माले भने, ‘शौचालयको प्रयोग गर्न लाइनमा बस्नुपरेको छ, उनीहरूलाई बस्न र सुत्न पनि उस्तै समस्या छ ।’ पर्याप्त मात्रामा भौतिक संरचना नभएका कारण समस्यामै रहेर पनि काम चलाउन परेको उनले बताए ।
कारागारमा पुरुषहरूलाई राख्नको लागि ६ वटा कोठा र महिलाको लागि एउटा कोठा रहेका छन् । ती कोठाहरूमा पर्वत जिल्लाकै कैदी र थुनुवा बढी रहेका छन् भने स्याङ्जा, कास्की र तनहुँ जिल्लाका पनि रहेका छन् ।
महिला कैदी बन्दी राख्नको लागि छुट्टै भवन निर्माण गर्न थालिएको भए पनि त्यो भवन भने अलपत्र परेका कारण पनि समस्या भएको हो ।
पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह ९ वर्षदेखि अलपत्र अवस्थामा छ । २०६६ सालको माघ महिनाबाट भवन निर्माण सुरु गरिएकोमा छेकाबारेको लागि रहने बाहिरी भित्ता निर्माण गरेपछि बजेटको अभावमा भवन निर्माण कार्य अलपत्र परेको हो ।
७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम सुरु गरिएको थियो । तर १४ लाख रुपैयाँ मात्र बजेट आएपछि १४ लाखको काम गरेर बन्दी गृह नै अलपत्र परेको छ। १४ लाख रुपैयाँ गृह निर्माण स्थल सम्याउने, जग राख्ने र दुई तर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर आवश्यक परेको बजेट नआउँदा ९ वर्षअगाडि इँटाबाट निर्माण गरिएका भित्ताहरू समेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ । २५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि तत्कालीन समयमा आएको १४ लाख रुपैयाँको काम खेर गएको छ ।
पर्वत कारागारमा रहेको पुरुष कैदीको सङ्ख्या ७३, महिलाको सङ्ख्या ७ गरेर ८० जना तथा थुनुवातर्फ ८ जना पुरुष र १ जना महिला गरेर ८९ जना रहेका छन् ।
तिनीहरूमध्ये सबैभन्दा बढी करणी मुद्दाका रहेका छन् भने दोस्रोमा कर्तव्य ज्यान मुद्दाका छन् । जबरजस्ती करणीमा २४ जना कैदी र २ जना थुनुवा रहेका छन् भने कैदीमध्येका २ जना विदेशी नागरिक रहेका छन् । यस्तै जबरजस्ती हाडनाता करणी मुद्दाका २ जना, जबरजस्ती करणी उद्योगमा ४ जना र जबरजस्ती करणी तथा अप्राकृतिक मैथुनमा २ जना रहेका छन् । यस्तै, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा रहेका २३ जनामा २२ जना कैदी र १ जना थुनुवा रहेका छन् । कैदीमध्ये ४ जना महिला रहेका छन् ।
निमित्त जेलर शर्माका अनुसार रहजनी चोरीमा ६ जना कैदी, नकवजनी चोरीमा ४ जना, लागु औषधमा ३ जना, सवारी ज्यानमा २ जना, जिउ मास्ने तथा मानव बेचबिखनमा १ जना, केही सार्वजनिक अपराधमा १ जना, ज्यान मार्ने उद्योगमा २ जना, गौबधमा २ जना, बहुबिवाहमा ४ जना, कुटपिट तथा अङ्गभङ्गमा २ जना, ठगी किर्तेमा १ जना र बाल यौन दुरुपयोगमा ४ जना कैदी बन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->