बागलुङ, ५ चैत– भोली देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । नेपाल सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा प्रभाव पार्न सक्ने भन्दै परीक्षा स्थगीत गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । अर्को मिति भने तय भएको छैन् ।
सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ ।





