बागलुङ,६ चैत – बागलुङदेखि ढोरपाटनसम्म साइकल यात्रा गरेर एक टोली फर्केको छ । बागलुङकै रामरेखा घर भएर काठमाण्डौमा पर्यटन व्यवसाय संचालन गरेका महादेव शर्माको नेतृत्वमा ५ जनाले ५ दिनको साइकल यात्रा गरेका हुन् ।
पहिलो दिन चैत १ गते बागलुङ कालीका मन्दिरबाट थालेको यात्रा शालीग्राम संग्राहलय, पञ्चकोट, तितौरे, धम्जाको बेलढुंगा, फापरखेतहुँदै घोडाबाँधेमा निस्केको थियो । मध्यपहाडी लोकमार्गकै बाटो बुर्तिवाङ पुगेपछि टोलीले ढोरपाटन सम्मको यात्रा गरेको हो । गलकोटको हटियादेखि गलकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष बिरजंग भण्डारीलेपनि साइकल यात्रा गरेका थिए । यात्रामा काठमाण्डौदेखि आएका कवि महर्जन, सरोज शर्मा, दमेन्द्र कर्माचार्य र रबीकर तामाङ पनि सहभागि थिए ।
सहभागीले बागलुङको साइकलयात्रा रोमान्चक भएको बताए । उनीहरुले गलकोट स्थित सहश्रधारा झरना र अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला भएको स्थल टेउवा पनि भ्रमण गरेका थिए । साइकल यात्राले मानिसको स्वास्थ्यमा सुधार गर्ने मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने शर्माले बताए । पुख्र्यौली थलो भएकोले चिनाउने अभियानमा पनि यात्रा गरेको उनले बताए । यो अभियानका लागि काठमाण्डौंस्थित नेपाल ड्रिम नामक संस्थाले प्रयोजन गरेको थियो । अभियानमा आएका सदस्यहरुले नेपालसहित बिदेशमा पनि साइकल यात्रा गरेको अनुभव संगालेका छन् । उनीहरुले नेपालका उच्च पहाडी क्षेत्रमा साइकल यात्रामार्फत साहसिक पर्यटक भित्राउन पहल गर्ने समेत बताए ।





