पोखरा,६ चैत – जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बुधबार राती उनलाई पक्रेको हो । पोखरा ५ पस्र्याङको मदिरा पसलमा मुद्दाको पक्षवालासँग घुस लिइरहेको अवस्थामा बुधबार साँझ ८ बजे पराजुली पक्राउ परेका अदुआ पोखरा कार्यालयले जनाएको छ । सूचना अधिकारी मेघनाथ रिजालका अनुसार संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने प्रलोभनमा स्रेस्तेदार (उपसचिव) पराजुलीले ३० हजार रुपैयाँ घुस मागेका थिए । अपराधको सिलसिलामा प्रयोग भएको आधारमा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन पराजुलीले दिएका थिए । ५० हजार रुपैयाँ घुस माग्दा ३० हजारमा बार्गेनिङ गरी त्यतिमा कुरो टुंगिएपछि पैसा लिन पराजुली रेस्टुरेन्ट पुगेका थिए ।





