काठमाडौं,६ चैत – राष्ट्रिय सभा सदस्यहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको प्रशंसा गरेका छन्। राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी, नागरिक समाजलगायत सबै निकायसँग मिलेर थप रणनीति बनाउन सांसदहरू सुझाव पनि दिएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा राष्ट्रियसभा सदस्य गोपी बहादुर सार्की अछामीले काविड १९ विरुद्ध लड्न सरकारले तयारी गरिरहेको भए पनि त्यो पूर्ण नभएको बताए। उनले सरकार सबै दल र जनता एक भएर यो चुनौतीको सामना गर्नुपर्ने बताए। उनले सीमा अतिक्रमणको विषयमा पनि कुरा उठाएका थिए। त्यस्तै प्रकाश पन्थले सबैलाई हातेमालो गर्न आग्रह गरे। उनले नेपाल आउने सबै नाका बन्द गरी खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु नेपाल फर्कन चाहेमा, त्यहीँ उनीहरु संक्रमित भए के गर्ने भन्ने तयारी गर्न सरकारको ध्यानाकर्षण गराए। जगप्रसाद शर्माले कोविड १९ विरुद्ध लड्न सरकारले अघि सारेका कार्यक्रम पर्याप्त नभएको बताए। वर्तमान संकट समाधानका लागि सरकार एक्लो प्रयास मात्रै प्रभावकारी नहुने भन्दै उनले सबै दल एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताए। त्यसैगरी राष्ट्रियसभा सदस्य कोमल वलीले आफू र बाँच र अरूलाई बाँच्न देऊ भन्ने मुल मर्मसहित संकटको बेला सबैसँग हातेमालो गरी समस्या समाधानमा जुट्न आग्रह गरिन्।





