मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

खुलेन गुप्तेश्वर क्याम्पसको ताला

खुलेन गुप्तेश्वर क्याम्पसको ताला


  • संजय रेग्मी
  • चैत्र ७ २०७६, शुक्रबार

पर्वत,७ चैत – कार्यरत प्राध्यापकहरुले आन्दोलन स्वरुप तालाबन्दी गरेको पर्वत कुश्स्माको गुप्तेश्वर बहुमुखी क्याम्पसको ताला अझै पनि खुल्न सकेको छैन् । गत सोमबारदेखि क्याम्पसमा कार्यरत स्थायी तथा आंशिक प्राध्यापकहरुले लगाएको ताला खुलाउने बिषयमा सम्बन्धित पक्षहरुको बीचमा पटक पटक वार्ताहरु भइरहेको भएपनि ताला भने नखुलेको हो ।

क्याम्पसको गुणस्तर सुधारका लागि विभिन्न क्रियाकलापहरू गर्नुपर्ने, आन्तरिक गतिबिधिहरुलाई चुस्त राख्नुपर्ने र प्राध्यापकहरूको रोकिएको तलब दिनुपर्ने माग गर्दै चैत ३ गते तालाबन्दी भएको थियो ।

प्राध्यापक सङ्घ गुप्तेश्वर क्याम्पसका सभापति दीपेन्द्र न्यौपानेले क्याम्पसको प्रशासन कक्षमा लगाइएको ताला खुलाउनको लागि वार्ताहरू भइरहेको र ती वार्ताहरूमा आपूmरुले वर्तमान अवस्थामा क्याम्पसले फड्को मार्न नसक्ने भएकोले विभिन्न सुधारका कार्यक्रमहरू ल्याएर अध्यापन कार्यलाई गुणस्तरीय बनाउने विषयमा दबाब दिइरहेको बताए । ‘केही मिडियामा तलब नपाएका कारण प्राध्यापकहरूले तलब नपाएका कारण तालाबन्दी भएको भनेर समाचारहरू आएका रहेछन् ।’ उनले भने, ‘हामीले लामो समयदेखि तलब नपाएको त हो, तर त्यसैका लागि मात्र तालाबन्दी गरेको होइन। क्याम्पसको सुधार आवश्यक छ भनेर अन्य विविध पक्षको सुधारका लागि दबाब दिनका लागि हो ।’

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीका अनुसार कार्यरत स्थायी र आंशिक प्राध्यापक तथा कर्मचारीहरूलाई झन्डै ४० लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ । तर क्याम्पससँग तलब खुवाउनको लागि नियमित रकम आउने बाटो नभएका कारण नै तलब दिन नसकिएको उनले बताए । ‘सरकारले कर्मचारी प्राध्यापकहरूको व्यवस्थापन गरेको छैन । यहीँ स्रोत खोज्ने, कहिले चन्दाबाट आएको पैसाले तलब खुवाउँदै आएका थियौँ ।’ जोशीले भने, ‘९ महिनाको तलब खुवाउन बाँकी रहेकोमा जसोतसो गरेर तीन महिनाको दिइएको छ । बाँकी रहेको ६ महिनाको आउँदो असारसम्ममा भुक्तान गर्न सहयोग खोज्ने हो ।’

पछिल्ला वर्षहरूमा क्याम्पसमा विद्यार्थीको सङ्ख्या घट्दै गएका कारण पनि तलब खुवाउनेदेखि अन्य समस्याहरू आएका छन् । विद्यार्थी सङ्ख्या कम हुँदा उनीहरूबाट लिइने शुल्क निकै न्यून हुँदा पनि प्राध्यापकहरूले तलब नपाएको अध्यक्ष जोशीले बताए । विद्यार्थी सङ्ख्याको आधारमा त्रिभुवन विश्वविद्यालयबाट आउने सहयोग घटेको तथा अनुदानका रूपमा कहिलेकाहीँ आउने गरेको भए पनि पछिल्लो समय क्याम्पसले अनुदान पाउन सकेको छैन ।

क्याम्पसमा हाल स्थायी र आंशिक गरेर २२ जना प्राध्यापक तथा ७ जना कर्मचारीहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->