बागलुङ,८ चैत – बरिष्ठ शिक्षकलाई प्रअ बनाउनु पर्ने बागलुङको एक शिक्षकले न्याय खोज्दै विभिन्न निकाय गुहारेका छन् । उनले बरिष्ठलाई सम्मान हुने वातावरण बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गरेका छन् ।
निसीखोला गाउँपालिकाको प्रभा मावि बोहोरागाउँका अंग्रेजी शिक्षक हरिचन्द पाण्डेले आफू बरिष्ठ भएपनि प्रअ हुन नपाएको गुनासो गरेका हुन् । उनले बरिष्ठलाई प्रअ बनाउन विद्यालय व्यवस्थापन समिति, गाउँपालिका र शिक्षा बिकास तथा समन्वय ईकाइलाई गुहारेका हुन् । शिक्षा नियमाबलीले बरिष्ठ शिक्षक प्रधानाध्यापक हुने व्यवस्था गरेको छ ।
नियमावलीले व्यवस्था गरेपनि समितिले अटेर गरेको उनले टिप्पणी समेत गरे । माध्यामिक तहको द्वितीय श्रेणीका पाण्डेलाई प्रअ नबनाइ समितिले प्राथमिक तहको द्वितिय श्रेणीका नवराज आचार्यलाई प्रअ बनाएको छ । डेढ बर्षदेखि पाण्डे यो बिद्यालयको शिक्षणमा छन् । उनले समिति र गाउ“पालिकामा बरिष्ठ भएकोले प्रअ पद पाउन माग गरेका छन् । समितिले भने वास्ता गरेको छैन ।
तत्कालिन श्रोत व्यक्तिलाई आफ्नै मातृ बिद्यालयमा पठाउने नेपाल सरकारको निर्णयपछि पाण्डे यहा“ आएका थिए । १० बर्ष श्रोतव्यक्ति भएर काम गरेपछि पाण्डेलाई शिक्षा बिकास तथा समन्वय ईकाईले सुरु नियुक्ती भएको प्रभा माबिमा पठाएको थियो । अंग्रेजी बिषयको शिक्षकमा उनी डेढवर्षदेखि अध्यापनरत छन् । ‘मैले आफ्ना कक्षाहरु लिइरहेको छु, समितिलाई कानूनको पालना गर्न आग्रह पनि गरेको छु’ पाण्डेले भने, ‘बिज्ञ व्यक्तिले भन्यो भने हुन्छ भनेर टार्छन्, त्यसपछि वास्तै गर्दैनन् ।’ सुरु नियुक्ती हु“दा पाण्डे भन्दा बरिष्ठ शिक्षक प्रअ थिए । तत्कालिन प्रअ भूमिराज आचार्य र गजाधर अर्याल अवकास भएपछि पाण्डे बरिष्ठ शिक्षक हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबिक्रम शाहीले पाण्डे श्रोतव्यक्ति हु“दा सहमतिमै आचार्यलाई प्रअ बनाएकोले तत्काल फेर्न कठिन भएको बताए । ‘हामीले श्रोत व्यक्ति छाडेर आउनु भन्दै बोलाएका हौं, त्यतिबेला आउनु भएन’ शाहीले भने, ‘उहा“लेनै आचार्यलाई सिफारिस गर्नुभयो, अहिले आएर आफू बन्न खोज्नु भएको छ ।’ बाध्यकारी भए मात्र फेर्ने तर समितिको अधिकार प्रयोग गरेर आचार्यलाई नफाल्ने उनले बताए ।
समितिका पदाधिकारीले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा समेत ३ पटक डेलिगेसन पुगेर पाण्डेलाई श्रोत व्यक्तिबाट फिर्ता दिन माग गरेको उनले बताए । ‘कार्यालयले पनि मानेन, पाण्डेले पनि मान्नु भएन’ शााहीले भने, ‘आपसमा मिलेर हुन्छ भने हामी बाधक बन्दैनौं ।’ पाण्डे र आचार्य पारिवारिक नातेदार समेत भएको उनले बताए । पाण्डे माध्यामिक तहको अंग्रेजी शिक्षक हुन् । आचार्य प्राथमिक तहको भएपनि समाजशाष्त्रका स्नातकोत्तर हुन् । उनले माबि तहसम्म सामाजिक शिक्षा पढाईरहेका छन् ।
यो समस्या आएपछि पाण्डेले गाउ“पालिका अध्यक्षलाई पनि निवेदन दिएका छन् । अध्यक्ष तारानाथ पौडेलले भने माध्यामिक तहको शिक्षा हेर्ने अधिकार भएपनि प्रअ राख्ने, हटाउने अधिकार समितिमै भएको बताएका छन् । पाण्डेले भने पालिकाले चाहेमा प्रअ हटाएर आ“फूलाई राख्न सक्ने दावी गर्छन् । शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले शिक्षा नियमाबलीले बरिष्ठ शिक्षक प्रअ हुने व्यवस्था गरेको बताए ।
‘हामीले अनुरोध गरेर नीतिगत मान्यता पालना गर्नुहोस् भनेका छौं, निर्णय गर्ने अधिकार समितिकै हो’ उपाध्यायले भने, ‘समायोजन भएका अधिकांस श्रोत व्यक्तिहरु बरिष्ठ भएमा स्वतह प्रअ भएका छन् ।’ तत्कालिन श्रोत व्यक्ति बिष्णुप्रसाद सापकोटा जैमिनी नगरपालिका २ को सुन्तलाचौर माबिमा समायोजन भएपछि प्रअ नियुक्त भएको उनले बताए । स्थानीय तह गठनपछि तत्कालिन २० जना श्रोत व्यक्ति मातृ बिद्यालयमा समायोजन भएका थिए ।





