पोखरा,८ चैत – विगत ४ महिनादेखि अलपत्र रुपमा रहेको पोखरा रंगशालाको ‘अभ्यास फुटबल मैदान’को बजेट कटौती हुने भएको छ । ९० लाख रुपैयाँको लागतमा बन्दैगरेको अभ्यास मैदान चार महिनादेखि अलपत्र अवस्था छ ।
गएको मंसिर १५ देखि २४ गतेसम्म संचालित १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग ) को समयसम्म अभ्यास मैदान निर्माण जारी रहे पनि खेल सकिएपछि काम रोकिएको हो ।
मैदानको लागि ३० लाख रकम निकासा भएको थियो तर मैदान निर्माण नै रोकिएपछि बाँकी ६० लाख भने राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) कटौति गरेको हो । र ३० लाख रुपैयाँले क मैदानको लागि चारैतिर लेभलको लागि डिपिसी गरिएको छ ।
‘अब हामी अभ्यास मैदानको लागि रकम खर्च गर्दैनौँ, यो मैदान सहयोग जुटाएर निमार्ण गर्नेछौँ’, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले भने,‘मैदान निमार्ण अलपत्र परेको होइन माटो भर्ने काम बाँकी रहेको हो,त्यसका लागि हामिलाई एक कम्पनीले माटो नि ःशुल्क दिन लागेको छ भने टिपर र डोजर पोखरा महानगरले सहयोग गर्नेछ ।’ उनले यसो भने पनि मैदानको लागि कहिले सहयोग जुट्छ भन्नेमा अन्यौल छ । एक महिनाभित्र काम सकिने जनाइए पनि निर्माणको सुरसार छैन । यता, मैदानको लागि माटो, टिपर र डोजर सहयोग आएपनि इन्धन खर्च भने राखेपले व्यहोर्ने राखेप सदस्य राजेश गुरुङले बताए ।‘बाँकी ६० लाख बराबरको काम सहयोग जुटाएर गरिन्छ, यो मैदान तयार हुनेछ’, सदस्य गुरुङको दावी छ । यता, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्षमण योगिले रकम निकासाको लागि पहल भइरहेको जानकारी दिए ।




