आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना प्रभाव : बागलुङका होटल व्यवसाय सुनसान

कोरोना प्रभाव : बागलुङका होटल व्यवसाय सुनसान


  • ढोरपाटन संबाददाता
  • चैत्र ८ २०७६, शनिबार

बागलुङ,८ चैत – बागलुङ बजारको ट्राफिकचोकमा रहेको बलेवा होटलकी सञ्चालिका दुर्गादेवि घिमिरे बुधबार बिहान ६ बजे उठिन् । ग्राहकले बोलाएपछि मात्रै होटल खुल्यो । काठमाण्डौबाट गाउँ फर्केका बलेवालीहरु उनको होटलमा गाउँजाने सवारी साधनको खोजीमा पुगेका थिए ।
रात्री बसमा आएका ग्राहकले बोलाए भन्दै ढोकामा पुगेकी उनलाई त्यतीबेला थाहा भो उनीहरु उनका ग्राहक थिएनन् । कोरोनाको विश्वव्यापी हल्ला चलेपछि यसैपनि व्यापार घटेकै थियो । पछिल्ला केही दिनयता त घरबजार आउने जानेका लागि सवारी खोज्ने कामबाहेक उनले अरु काम पाएकी छैनन् ।
सीमित बास बस्ने ठाउँ भएपनि खाजा खानाको लागि १५÷२० दिन पहिला उनको होटलमा निकै मान्छेहरु आउँथे । तर, पछिल्लो केही साता यता नत खाजा बिकेको छ, नत खाना । बास बस्नेहरु आउने त कुरै भएन । पाहुनाले भरिभराउ हुने सिजनमा कोरोना भाइरसको त्रास बढेपछि सदरमुकाम बागलुङमा संचालित ठूला तथा साना होटल ठप्पै जस्तो बनेका छन् ।
जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको होटल समिट धौलागिरीका कोठा नभरिएको धेरै समय भैसक्यो । कारण पाहुना नआउनु । होटलमा पाहुना नआएपछि यहाँ संचालित होटलहरूको ब्यापार नै ह्वात्तै घटेको छ । ‘गर्मी याम पर्यटकका लागि पनि राम्रो हो’ होलट व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका होटल समिटका संचालक अर्जुन चोखालले भने ‘कोठाको कुरै छाडौ किचनमा दुईमाना चामल पनि पाक्छ छाडेको छ ।’ कोरोनाको त्रासले बजारमा हिँड्डुल गर्ने मानिसको संख्या घटेको छ । ‘पहिले जस्तो चलपहल नै छैन, व्यापारमा भ्याईनभ्याइ हुने बेला दिन कसरी कटाउने भन्नुपरेको छ’ चोखालले भने ।
सदरमुकाममा सानाठूला गरि एक सयभन्दा धेरै होटल नेपाल होटल ब्यबसायी संघमा आवद्व छन् । व्यापारमा आएको मन्दीले घरको भाडा तिर्न समेत ऋण गर्नुपर्ने अवस्था आएको व्यवसायी बताउँछन् । बागलुङको व्यवसाय पछिल्लो समय पर्यटनमा निर्भर छ । सिजनमा मुस्ताङ, ढोरपाटन लगायत अन्य पर्यटकीय स्थल घुम्न आउने पर्यटकका कारण यहाँको व्यापार धानिएको थियो ।
‘मुस्ताङ जाने देशिबिदेशी आउने समय हो’ होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भने ‘खचाखच हुने समयमा कोरोना भाईरसको कारण भन्दै बुकिङ भएका समेत क्यान्सिल भएका छन् ।’ मुस्ताङ र मुक्तिनाथ जाने पर्यटकको ट्रान्जिटका रुपमा बागलुङका होटल व्यवसाय थिए । होटल शितलका सञ्चालक तालबहादुर कुँवरले भने ‘काम गर्नेहरुलाई तलब दिनु की घर पठाउनु भैयो ।’ भ्रमण बर्षको प्रचार प्रसारले उठ्न थालेको होटल व्यवसाय कोरोनाका कारण पुनः थला परेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->