नवलपुर, ८ चैत – नवलपुरको सर्दीमा रहेको नवप्रतिभा बचत तथा सहकारी संस्थाका कर्मचारीबाट हतियार देखाएर ४ लाख नगद लुट्ने एक युवक ९ दिनपछि पक्राउ परेका छन् । रकम लुटेको ९ दिनपछि सर्दीवाट वीरे भनिने गम्बहादुर सारु मगरलाई पक्राउ गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ । उनी विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् ।
लुटेराको बारेमा गाउँलेले दिएको हुलियाका आधारमा सर्दीबाट प्रहरीले पक्राउ गरेको हो। गत फागुन २५ गते सहकारी सदस्यबाट संकलन गरेको संकलित नगद ४ लाख ४ हजार लिएर फर्किंदै गरेका कर्मचारीबाट बीच जंगलमा लुटेर फरार भएका थिए। पक्राउ पर्ने सारुका परिवार सहकारीको सदस्य रहेका छन्। कुन दिन कति पैसा जम्मा हुन्छ भन्ने परिवारका सदस्यबाटै जानकारी पाएका सारुले मुखमा मास्क लगाएर जंगलको बाटोमा कर्मचारीबाट नगद लुटेर फरार रहेका थिए।
सहकारीका कार्यकारी निर्देशक रामप्रसाद काफ्लेका अनुसार खकरा जंगलमा मुखमा मास्क लगाएर लुकेर बसेको ३ जनाको एक समूहले पेस्तोल देखाएर ती कर्मचारीबाट नगद लुटेको हो। लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ।





