पोखरा, ९ चैत – विश्वको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको अवस्थामा पोखरा रंगशालालाई आइसोलेसन तथा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने गरी तयारी गरिएको छ ।
‘राज्य नै संकटमा पर्ने अवस्थामा छ, राज्यलाई आवश्यक परेको बेला रंगशालालाई पनि अस्पतालको रुपमा प्रयोग गर्न सकिनेछ’, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले भने ,‘हामिसँग पूर्वाधार छन् देशको स्थिति हेरेर राज्यलाई चाहिएको अवस्थामा प्रयोग गर्ने गरि तयारी अवस्थामा छौँ ।’ रंगशालाभित्र रहको बहुउद्देश्यीय कभर्ड हल, नयाँ र पुरानो व्याडमिन्टन हललाई आइसोलेसन वार्ड बनाउन सकिने उनले बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नागरिकको स्वास्थ्य उपचार पहिलो प्राथमिकता भएको बताउदै रंगशालाका पूर्वाधार अस्थायी आइसोलेसनको रुपमा प्रयोग गर्न सकिने बताए । ‘पोखरा रंगशालालाई आइसुलेसनको रुपमा प्रयोग गर्न सम्बन्धित निकायले चासो दिएमा हामी समन्वय गर्छौँ’, बरालले भने । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगिले महामारीको अवस्थामा रंगशालालाई प्रयोग गर्नु उचित कदम रहने बताए । ‘विश्वभर महामारीको रुपमा फैलिएको संक्रमणको समयमा खेलकुद क्षेत्रले तयार गरेको पुर्वाधारको पनि प्रयोग गर्न सकिने छ’, योगी भने । अलिहे पोखरा रंगशालामा सबै खेलकुद गतिविधिहरु रोकिएका छन् ।





