बागलुङ, ११ चैत – चैत ४ मा कतारबाट हवाईजहाजमा चढेर आएकामध्ये ढोरपाटन नगरपालिका– ५ का एक युवा भोलीपल्ट घरमा पुगे । काठमाण्डौमा एकरात बसेपछि उनी अधिकारीचौर पुगेका थिए । काठमाण्डौबाट बस चढेर बुर्तिवाङ पुग्दा उनको अर्का एक साथी थिए । ढोरपाटन नगरपालिका–७ का उनी परिवारका सदस्यको मृत्यु भएकोले क्रिया बस्न आएका हुन् ।
कतारबाट आएका युवा अहिले पनि घरमै छन् । जुन जहाजमा उनी आएका थिए, त्यही जहाजमा आएकी काठमाण्डौकी एक युवतीलाई कोरोना भाइरस (कोभिड–१९) लागेको पुष्टी भएको छ । उनी आएकै जहाजमा आएकोले ती युवा पनि संक्रमित हुन सक्ने भन्दै धेरै शंका र डर बढेपछि मंगलबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहित स्वास्थ्यकर्मीको टोली उनको घरैमा पुगे । नेपालीसँग प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका स्वास्थ्यकर्मी घनश्याम चालिसे र स्थानीय स्वास्थ्यकर्मी ऋतुबर्ण पौडेल, इलाका प्रहरी प्रमुख र वडा अध्यक्ष समेत घरमा पुग्दा ती युवा सामान्य अबस्थामा भेटिए । उनलाई सामान्य रुघाखोकीको लक्षण पनि देखिएको छैन ।
सामान्य अबस्थामा देखिएपछि त्यहाँ पुगेका स्वास्थ्यकर्मी र स्थानीय सरकार प्रमुखले उनलाई कोरोना प्रकोपबारे जानकारी गराए । युवाको दुई घर भएकाले एक सातासम्म उनलाई छुट्टै घरमा बस्न सुझाव दिएको नगरप्रमुख नेपालीले बताए । ‘लक्षण नदेखिएपनि होम क्वारेन्टाइन बनाएर साता दिन बसिदिनुहोस् भन्यौं’ बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने, ‘आफ्नो र परिवारको सुरक्षाका लागि पनि त्यो आबस्यक छ भन्ने उनका घरमा पुगेका हाम्रा साथीहरुले बुझाएं ।’ विश्व नै कोरोना संक्रमणबाट आतंकित भएकोले हरेक नागरिकले सचेतना अपनाउनुपर्ने उनले सुझाए । साता दिनभित्र केही लक्षण देखिएमा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन सुझाव दिएपछि टोली फर्केको थियो ।
अधिकारीचौरकै युवासंग काठमाण्डौबाट बसमा बुर्तिबाङ पुगेका अर्का युवा भने आफ्नो बाबुको क्रियामा छन् । उनी दुवईबाट काठमाण्डौ आएको र त्यहाँ एक वेलुका होटलमासंगै वसी भोलीपल्ट वसबाट सिधै बुर्तिबाङ पुगेका थिए । चैत १४ गते मात्र उनको क्रिया सकिन्छ । काजक्रियाको काममा उनले कसैलाई छोएका छैनन् । बरु उनको अबस्था पनि होम क्वारेन्टाइन जस्तै हो’ वडा अध्यक्ष लक्ष्मण पुनले भने, ‘क्रिया उम्केपछि पनि थप चारपाँच दिन बाहिर नजान र केही लक्षण देखिए स्वास्थ्यकर्मीलाई खबर गर्न भनेका छौं ।’ दुवैजना स्वस्थ भएकोले अहिलेसम्म सुरक्षित भएको उनले बताए । सामाजिक संजालमा आएझैँ उनीहरु बिरामी भएको, अस्पताल भर्ना भएको भन्ने कुरा असत्य भएको उनले बताए ।





