बागलुङ, ११ चैत – स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टीभ इक्युपमेण्ट) को अभाव हुँदा बागलुङमा कोरोना भाईरसका शंकास्पद बिरामीको परीक्षणका लिईने नमुना संकलन प्रभावित भएको छ ।
सुरक्षा कवचको अभावका कारण गत चैत ५ गते फ्रान्सबाट कतारहुँदै नेपाल आएकी बागलुङ नगरपालिका–४ का एक महिलाको नमुना संकलन गर्न नसकिएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । काठमाण्डौमा कोरोना संक्रमणको पुष्टि भएकी यवतीसँगै कतार एयरवेजबाट आएकी बागलुङकी महिलाको नमुना संकलनमा समस्या आएको हो । घरमा नै वसेकी उनलाई केही दिनदेखि ज्वरो आउने, रुघा लाग्ने लगायतका लक्षण देखापरेपछि उनको परिवार मंगलबार अञ्चल अस्पतालको सम्पर्कमा आएको थियो ।
विरामीको परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराएको भएपनि सुरक्ष कवचको अभावमा कोरोना परीक्षणका लागि नमुना संकलन गर्न कठिन भएको अस्पतालका डा. पुजन बल्लले जानकारी दिए । सुरक्षा कवच नभएकै कारण अस्पतालको आईसोलेसन कक्षसम्म ल्याई पुराउन नसकिएको हो ।
सुरक्षा कवच नलगाई बिरामीलाई आईसोलेसनसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मी समेत बिरामीको नजिक जान नमिल्ने भएकाले समस्या भएको डा. बल्लले बताए । अस्पतालमा रहेका दुईसेट सुरक्षा कवच सोमबारनै अस्पतालमा आएका बागलुङ नगरपालिकाकै अर्का विरामीको स्वाब संकलनमा प्रयोग भएको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले मंगलबार दिउसो गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँच थान सुरक्षा कवच प्राप्त गरेका छन । पोखराबाट बागलुङ आउन समय लाग्ने भएकाले बुधबार बिहानसम्म ती महिलाको घाँटीको स्वाब लिन सकिने अस्पतालले जनाएको छ । डा. बल्लका अनुसार, ती महिलालाई बुधबार बिहान मात्रै आईसोलेसनमा लिन सकिने छ । मंगलबार भने विरामी महिला घरमा नै क्वारेन्टाइनमा छिन । जिल्लामा शंकास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरिद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।





