बागलुङ, ११ चैत – विश्वव्यापी कोरोना संक्रमणको असर बढेसँगै बिदेशबाट गाउँ फर्किएका आठ जनालाई यहाँको एक वडाले ‘होम क्वारेनटाइन’मा राख्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीले बिदेशबाट आएका आठ जनालाई होम क्वारेनटाईनमा राख्ने तयारी थालेको हो ।
वडाध्यक्ष चित्रकला श्रीसको अध्यक्षतामा मंगलबार बसेको बैठकले भारत, दुवइ, कतार तथा जापानबाट घर फिर्ता भएकोहरुलाई १४ दिनसम्म आफ्नै घरमा अन्य व्यक्तिको सम्पर्क बाहिर रहेर बस्न आग्रह गर्ने निर्णय गरेको हो । कोरोनोको सम्भावित जोखिमलाई ध्यानमा राखेर क्वारेनटाइनमा राख्ने निर्णय गरिएको अध्यक्ष श्रीसको भनाई छ । बैठकले वडाध्यक्ष श्रीसको अध्यक्षतामा १७ सदस्यीय विपत व्यवस्थापन समिति गठन गरेको छ । बैठकले लकडाउन अवधिभर मजदुरीबाट बञ्चित हुने ३७ परिवारको नाम गाउँपालिकामा सिफारिस गरेको छ । नाम सिफारिस भएका परिवारले गाउँपालिकाबाट राहत पाउने छन् ।





