गलकोट,१२ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९ ) बाट बच्नको लागि गलकोटमा तयारी तिब्र पारिएको छ ।स्वास्थ्यकर्मी, नेपाल प्रहरीको सहयोगमा अर्जुनबाण गण घोडाबाँधे ब्यारेकको टोलीले तिव्रताको साथ क्वारेन्टाइन निर्माणको काम गरिरहेको छ । गलकोट नगरपालिका वडा नम्बर १ को काफलठुटाको देवालय प्राथमिक विद्यालयमा अस्थायी क्वारेन्टाइन बनाउन लागिएको हो । नेपाली सेनाको अनुरोधमा क्वारेन्टाइन बनाउनको लागि आवश्यक सामाग्री गलकोट उद्योग वाणिज्य संघको नेतृत्वमा संकलन गरिएको छ । संघको पहलमा घुम्टे मनि ट्रान्सफरका सञ्चालक वीरेन्द्र श्रेष्ठ, भिमसेन एण्ड ब्रदर्शका सञ्चालक भिमसेन श्रेष्ठ, श्रेष्ठ हार्डवयर दिलिप श्रेष्ठ, शिद्ध भैरव फिड सपलायर्स महेन्द्र खत्री, न्यूलाईफ बोडि स्कुल, श्रेष्ठ अटोमोबाईलका सुदिप श्रेष्ठ, न्यू फेशन एण्ड मुकेश स्पोट्सका सञ्चालक मुकेश कुवर, बिएण्डबि होटलका कौशिला घर्ति, अनुप भाडा पसलका सञ्चालक भिमलाल गौतम, अपिल ग्रिल उद्योगका सञ्चालक बिरबल श्रेष्ठ, मनसुन किराना पसलका बसन्त भण्डारी, सुबिन ईन्डोर स्पोट्स हाउसका सञ्चालक सुरेन्द्र श्रेष्ठले क्वारेन्टाईन निर्माणको लागि आवश्वक म्याट, सिरानी सिरक डसना लगाएतका सबै सामाग्री सहितको १ थान बेड सेट उपलब्ध गराएको गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
तत्कालको लागि १० शैयाको क्वारेन्टाइन बनाउने अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले बताए ।
अझै पनि कोरोनाको माहामारी नियन्त्रण मा सहयोग गर्न चाहाने ब्यक्तीले उद्योग बाणिज्य संघ गलकोटमा सम्पर्क गर्न संघले अनुरोध गरेको छ ।





