बागलुङ, १४ चैत -कोरोना भाईरस (कोविड १९)संक्रमण नियन्त्रण तथा रोकथामका लागि बागलुङको ढोरपाटन नगरपालिकाले आफ्ना गतिविधिलाई सक्रिय बनाएको छ । सरुवारोगको प्रकोप न्यूनिकरणका लागि नेपाल सरकारले लकडाउन कार्यक्रमलाई प्रभावकारी बनाउँदै गर्दा नगरपालिकाले पनि त्यसको कार्यान्वयन सँगै स्वास्थ्य संस्थामा आवश्यक औषधि पठाएको स्वास्थ्य संयोजक घनश्याम चालिसेले बताए ।सबै स्वास्थ्य संस्थामा पुगेर त्यहाँको अवस्थाको रिपोटिङ सहित औषधि वितरण गरिएको चालिसेले बताए । तत्कालकालागि औषधि अभाव हुन नदिन नगरपालिकाले विषेश शतर्कता अपनाएको भन्दै, सबै स्वास्थ्य संस्थामा पहिलो चरणमा आवश्यक औषधि पु¥याएको उनको भनाई थियो । कोरना संक्रमणको लक्षण देखिएका विरामीहरुको चेकजाँच तथा स्वास्थ्य उपचारका लागि सुरक्षा कवचका रुपमा नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीलाई १० थान स्वास्थ्य सुरक्षा कवच प्रदान गरेको छ । त्यस मध्ये पहिलो चरणका खुँगा स्वास्थ्य चौकी, बोबाङ स्वास्थ्य चौकी र शहीखोला स्वास्थ्य चौकीमा समेत १÷१ थान सुरक्षा कवच पठाउने तयारी भएको छ । सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई सहज रुपमा चेकजाँचमा सहयोग पुग्ने गरि तत्काल थप ५० थान स्वास्थ्य सुरक्षा कवच माग गरेको चालिसेले बताए ।





